दाङ-लुम्बिनीमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउँदा सहयोग गरेका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमध्ये एकलाई दिने भनिएको युवा तथा खेलकुद मन्त्रालय चार महिनादेखि खाली रहेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने प्रयास गरेर तेस्रो पटक सरकार विस्तार गरे पनि सरकारलाई समर्थन गरेका मध्येबाट लोसपा र नाउपामध्ये कसलाई पहिला मन्त्री बनाउने भन्ने कांग्रेस–एमालेबीच टुंगो लाग्न नसक्दा मन्त्री चयन हुन नसकेको हो । खाली रहेको खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले आफैं सम्हालेका छन् ।
साना दललाई भागबन्डा मिलाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको थियो । सामाजिकमा रहेको युवा तथा खेलकुद छुट्याएर छुट्टै मन्त्रालय बनाउने निर्णय लुम्बिनी मन्त्रिपरिषद्ले गरेको थियो । मन्त्रीका लागि नाउपाबाट राजकुमार चौधरी र लोसपाबाट सन्तोषकुमार पाण्डे छनोट भएका छन् । लुम्बिनी प्रदेश सभामा नाउपाका चार र लोसपाका तीन सांसद छन् ।
लुम्बिनीमा कांग्रेस–एमाले गठबन्धन सरकार बनाउँदा १२ मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र कांग्रेसलाई पाँच मन्त्रालय बाँडफाँट गरेका थिए । दुई मन्त्रालय सरकारलाई समर्थन गरेका नाउपा, लोसपा र जसपालाई दिने सहमति भएको थियो । त्यस अनुसार अशोक राई नेतृत्वको जसपाबाट बाँके २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पहिलो चरणमा नाउपा र लोसपामध्ये कुनलाई सरकारमा सहभागी गराउने भन्नेबारे टुंगो लाग्न नसक्दा खेलकूद मन्त्रालय खाली नै रहेको सरकारका प्रवक्ता एवं कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । उनले बाँकी रहेको मन्त्रालयलाई मन्त्री चयन गरी सरकारलाई पूर्णता दिने काम छिट्टै गरिने बताए । यसबारेमा मुख्यमन्त्री आचार्यले पहल गरिरहेको मन्त्री पन्थीले बताए ।
एमालेले पाएका पाँच मन्त्रालयमध्ये मुख्यमन्त्रीमा अर्घाखाँचीका आचार्य, रुपन्देहीका भूमीश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्रालय, गुल्मीका दिनेश पन्थी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, पाल्पाका खेम सारु स्वास्थ्य मन्त्री र दाङकी सीता शर्मा चौधरी ऊर्जा तथा जलस्रोत मन्त्री छन् ।
कांग्रेसबाट पहिलो चरणमा प्यूठानका सरोज थापा सहरी विकास तथा खानेपानी मन्त्री, दाङका प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री र गुल्मीका धनेन्द्र कार्की आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
निर्मला कुर्मीको अपहरण गरी बेपत्ता पारेको आरोप लागेपछि वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको वन मन्त्रीमा नवलपरासीका देवकरण कलवार र सामाजिक विकास मन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना मन्त्री भएका छन् ।