२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्की को हुन् ?

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते २१:२६
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्की को हुन् ?

नेपालको राजनीतिक इतिहासमा फेरि एउटा नयाँ अध्याय खुल्दैछ । अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रतिनिधिसभाभन्दा बाहिरबाट कार्यकारी प्रमुख रोज्नुपर्ने बाध्यता आउँदा राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

को हुन् सुशीला कार्की ?

वि.सं. २००९ मा मोरङको शंकरपुरमा जन्मेकी सुशीला कार्की सात सन्तानमध्ये जेठी हुन् । किसान पृष्ठभूमिबाट आएका उनका बुबा डिल्लीराम र आमा लिलादेवीले छोरीलाई शिक्षामा प्रोत्साहित गरे । शंकरपुरकै जनता माविबाट प्रारम्भिक शिक्षा, विराटनगरको महेन्द्र मोरङ कलेजबाट स्नातक, बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्दै उनले आफ्नो शैक्षिक यात्रा अगाडि बढाइन् ।

२०३४ सालमा वकिलको अनुमतिपत्र पाएपछि धरानमा ठूलोबुबा तोरणबहादुर कार्कीको ल फर्ममार्फत उनले कानुनी अभ्यास सुरु गरिन् । त्यसबेला अदालतमा देखिने थोरै महिलामध्ये एक भएकी उनी हिम्मतिलो तर्क र स्पष्ट वक्तृत्वका कारण चाँडै चिनिन पुगिन् ।

सुशीलाको परिवार कांग्रेस समर्थक थियो। २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रूपमा सहभागी भइन्, प्रहरीद्वारा पक्राउ समेत भइन् । त्यसयता, उनले अधिवक्ता मात्र नभई सडक बहसदेखि प्रजातन्त्रको आन्दोलनसम्ममा आफ्नो सक्रियता देखाइन् ।

२०६५ मा उनी सर्वोच्च अदालतकी न्यायाधीश नियुक्त भइन् । त्यसको सात वर्षपछि, २०७३ मा मुलुककै पहिलो महिला प्रधानन्यायाधीश बनिन् । कार्यकाल छोटो भए पनि सुशीलाले महत्वपूर्ण मुद्दामा ऐतिहासिक फैसला सुनाइन्- ठुला ठेक्का, भ्रष्टाचार, प्रहरी महानिरीक्षक नियुक्ति विवाददेखि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता प्रकरणसम्म ।

तर उनको यो दृढता सजिलै स्वीकार भएन । अवकास हुनुअघि नै २०७४ मा कांग्रेस र माओवादी सांसदहरूले महाभियोग दर्ता गरे । सर्वोच्चकै आदेशले त्यो प्रस्ताव निष्क्रिय भए पनि, उनले नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महाभियोग खेप्ने न्यायाधीश दुवै परिचय बोकेकी छन् ।

विराटनगरमै बसेर कांग्रेस नेता दुर्गा सुवेदीसँग प्रेम विवाह गरेकी कार्कीको परिवार पनि चर्चित राजनीतिको वरिपरि घुम्छ । उनका जीवनसाथी जहाज अपहरण काण्डका अभियन्तामध्ये एक थिए । अवकाशपछि उनले आत्मकथा ‘न्याय’ प्रकाशन गरिन्, जहाँ उनले न्यायपालिका र राजनीतिको अन्तरसम्बन्धबारे खरो अभिव्यक्ति दिएकी छन् ।

अब, आन्दोलनकारी युवादेखि नागरिक समाज र दलहरूको सहमतिमा सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व गर्न सिंहदरबार प्रवेश गरेकी छन् । उनको काँधमा मुलुकलाई अस्थिरताबाट स्थिरतर्फ डोर्याउने, चुनाव सम्पन्न गर्ने र सत्ता हस्तान्तरणसम्म पुर्‍याउने जिम्मेवारी छ ।

न्यायालयमा रहँदा 'राजनीतिले अदालतसम्म हात लम्ब्याउन नपाओस्' भन्ने अडान लिएकी सुशीला आज आफैं राजनीतिको केन्द्रमा छिन् । उनको अघिल्लो छवि (इमानदार, कठोर र निर्भीक) यस यात्रामा मुख्य पुँजी बन्न सक्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise