सत्ता उलटफेर हुनेगरी जेनजी विद्रोह भड्किएपछि संसद्का तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु भूमिगतजस्तै भएका छन् ।
शीर्ष र दोस्रो तहका नेताहरु मात्र हैन, केन्द्रीय समितिका नेताहरु पनि सार्वजनिक रुपमा देखा परेका छैनन । पार्टीका तर्फबाट केही नेताहरुले जारी गरेको वक्तव्यमा ती पार्टीहरुको अबको बाटो प्रष्ट छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जेनजीले उठाएको मुद्दा एउटै भएकोभन्दै विद्रोहको समर्थन गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाले नयाँ पुस्ताले कांग्रेसलाई नरुचाएकाले पार्टी र नेता सुध्रिने प्रतिबद्धता जनाएका छन् । एमाले महासचिव शंकर पोखरेलले बदलिएको परिस्थितिमा संयम अपनाएर सुरक्षित रहन आव्हान गर्दै एमाले फेरि उठ्ने उद्घोष गरेका छन् ।
तर, हिंसा भड्किएपछि शीर्ष तहका नेतालाई सेनाले कहाँ राखेको छ बताइएको छैन । सैनिकस्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई शिवपुरीस्थित सैनिक प्रशिक्षण केन्द्रमा राखिएको छ । २१ भदौंमा जेनजी प्रदर्शनमाथि भएको प्रहरी दमनबिरुद्ध सर्वसाधारण प्रतिरोधमा उत्रिएपछि प्रधानमन्त्री ओलीले मध्यान्ह राजीनामा गरेका थिए । त्यतिन्जेलसम्म ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डका निजी निवासमा आगजनी भइसकेको थियो । ओली र उनको परिवारलाई सेनाले बालुवाटारबाटै हेलिकप्टर शिवपुरी पुर्याएको थियो । प्रचण्ड र नेपाल सिंहदरबारमा विपक्षी दलको बैठकमा छँदै हिंसा भड्किएपछि उनीहरुलाई पनि हेलिकप्टरमा राखेर शिवपुरी लगिएको थियो ।
घरमै हेलिकप्टर पर्खिएर बनेका कांग्रेस सभापति देउवा दम्पत्तिमाथि भने अराजक भिडले कुटपिट र अमानविय व्यवहार गरेको थियो । उनीहरुलाई जोगाउन सेना, सशस्त्र र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । आगजनीको धुवाले हेलिकप्टर बस्न सक्ने स्थिति नभएपछि दिनभरीजसो देउवा र परराष्ट्रमन्त्री आरजु राणालाई सुरक्षाकर्मीले खुला चौरमै टिनले घेरेर सुरक्षा दिएको थियो । त्यहीँ उनीहरुको टाउकोमा लागेको चोटको प्राथमिक उपचारसमेत गरिएको थियो । भिड तितरबितर हुन थालेपछि सेनाले स्थलमार्ग हुँदै सुरक्षित अस्पतालमा लगेको थियो ।
अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल किर्तिपुरस्थित बर्न अस्पतालमा घाइते श्रीमती रविलक्ष्मी चित्रकारको स्याहारमा छन् । आन्दोलनकारीले उनलाई घरभित्रै थुनेर आगो लगाएको थियो । गम्भीर घाइते भएकी उनलाई नेपाली सेनाले उद्दार गरेर अस्पताल पुर्याएको थियो ।
तीन ठूला दलका शीर्ष नेताहरुबारे सम्बद्ध पार्टी र सेनाले कुनै जानकारी नदिएकाले उनीहरुको स्थितिबारे धेरै खुलेको छैन । बिहिबार एकाएक नेताहरुलाई सेनाले नजरबन्दमा राखेको हल्ला फैलिएको थियो । नेताहरुसँगै भैसेपाटी र सिंहदरबारबाट उद्दार गरिएको तत्कालीन सरकारका मन्त्रीहरुको स्थिति पनि अज्ञात छ । उनीहरुलाई सैनिक ब्यारेकहरुमा राखिएको हुनसक्ने बताइएको छ ।