२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

किन पटकपटक आउँछन् लु ?

hardik ivf
निमिष झा
२०८१ मंसिर २४ गते ०६:४०
किन पटकपटक आउँछन् लु ?

काठमाडौं : अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आइतबार नेपाल आएका छन् । काठमाडौं उत्रनेबित्तिकै उनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । दुवै भेटमा नेपाल–अमेरिका सम्बन्ध, द्विपक्षीय सम्बन्ध, नेपालको आर्थिक विकाससहितका विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार उनीहरूबीच नेपालको शान्ति प्रक्रियाका विषयमा पनि छलफल भएको छ ।

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रूपमा सम्पन्न हुन थालेको जानकारी अध्यक्ष प्रचण्डले लुलाई दिए । ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रूपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन, शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो’, प्रचण्डले भने,  ‘टीआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ ।’

यस्तै, कांग्रेस सभापति देउवासँगको भेटमा उनीहरूबीच २ देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको छ । उनको प्रधानमन्त्री केपी ओली शर्मासँग सोमबार भेट्ने कार्यक्रम छ ।

२ दिने भ्रमणको क्रममा उनले वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकास जस्ता मुख्य क्षेत्रहरूमा २ देशबीचको सहकार्यलाई अघि बढाउने विषयमा छलफल गर्ने छन् ।

लुको भ्रमण प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केलगत्तै भएको हो । भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा सम्झौता भएको छ । अमेरिका र भारत नेपालमा बीआरआई कार्यान्वयन नहोस् भन्ने चाहना राख्छन् ।

अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका लु १५ सेप्टेम्बर २०२१ मा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्युरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा काम गरेका थिए । अल्बानियामा राजदूत हुनुअघि उनी पश्चिम अफ्रिकामा अमेरिकी विदेश मन्त्रालयबाट नियन्त्रण कार्यदलको सहायक संयोजक भएका थिए ।

लु नेपाल पटकपटक आउने उच्च तहका अमेरिकी अधिकारी हुन् । लुले यसअघि पनि ३ पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष २९ असारमा पनि नेपाल आएका थिए । नेपालको संसद्ले एमसीसी पारित गर्न लाग्दा त्यसपूर्व र त्यसपछि पनि उनी नेपाल आएका हुन् ।

पछिल्लो समय विश्वशक्ति राष्ट्रहरू अमेरिका र चीनबाट भ्रमणको शृंखला बढेको छ । यसलाई नेपालमा आ–आफ्नो प्रभाव बढाउन शक्ति राष्ट्रहरूबीच चलिरहेको प्रतिस्पर्धाका रूपमा विश्लेषण भइरहेको छ ।

परराष्ट्र सम्बन्धका जानकारहरू विश्व शक्ति राष्ट्रहरूले नेपालमा आफ्नो प्रभाव बढाउन काठमाडौं केन्द्रित गतिविधि बढाइरहेका बताउँछन् । ‘अहिले चीन र अमेरिका तथा चीन र भारतबीचको द्वन्द्वमा बढोत्तरी भइरहेको छ । नेपालमा कसैको पुरानो प्रभाव छ भने कसैले नयाँ प्रभाव विस्तार गर्न खोजिरहेका छन्’, उनीहरू भन्छन् ।

भारत र चीन विश्व शक्ति राष्ट्र हुने प्रतिस्पर्धामा रहेका र नेपाल चीनसँग सिमाना जोडिएको देश भएकाले पनि अमेरिकाको रणनीतिक महत्त्व बढेको जानकारहरू बताउँछन् ।

सरकार परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरूका गतिविधिमा पनि बदलाव देखिने गरेको छ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि नेपालमा चिनियाँ सक्रियता देखिनेगरी बढेको थियो ।

अहिले ओली प्रधानमन्त्री बनेसँगै काठमाडौंमा चिनियाँ र अमेरिकी उपस्थिति बाक्लिएको छ ।

चीनबाट तुलनात्मक हिसाबले कम भए पनि अर्थपूर्ण समयमा अमेरिकाबाट समानान्तर भ्रमणहरू भएका छन् । १५ फागुन २०७८ मा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए । 

अमेरिकी अधिकारीहरूले आफ्नो भ्रमणलाई प्रायः २ देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठसँग जोड्ने गरेका छन् भने चीनले सम्बन्ध विस्तारका लागि भन्ने गरेको छ । 

नेपालको संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि बढाउन चाहेको थियो । यता, चीनले बीआरआईलाई अघि बढाउने र अमेरिकी परियोजनाहरू रोक्न चाहेको छ । नेपाल अहिले २ देशको चेपुवामा परेको छ । 

अमेरिकाले सन् २०१५ देखि अगाडि सारेको एसपीपीमा सहभागी हुन नेपाललाई आन्तरिक रूपमा दबाब दिँदै आएको छ । अमेरिकाले एसपीपीलाई इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीसी)अन्तर्गत राखेको हुनाले नेपालले त्यसमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ । जानकारहरू लुको भ्रमण त्यसतर्फ पनि केन्द्रित रहेको हुन सक्ने आँकलन गर्छन् । नेपालले बीआरआईमा सम्झौता गरेपछि चीनलाई ‘काउन्टर’ दिन लुको भ्रमण भएको हुने सक्ने विश्लेषण पनि गरिँदै छ ।

लु नेपाल आएर शीर्ष नेताहरूलाई भेटे पनि उनको भ्रमणका एजेन्डा र कार्यसूची परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर, अमेरिकी दूतावासले उनको भ्रमणलाई नियमित भनेको छ ।

सदनमा एमसीसी अनुमोदन गराउन महत्त्वपूर्ण भूमिका खेलेका लुलाई एसपीपीलाई अघि बढाउन नेपाल पठाएको हुन सक्ने कतिपय बताउँछन् । एमसीसी पारित हुनुपूर्व २७ माघ २०७८ मा उनले तत्कालीन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर एमसीसी सम्झौता पारित गर्नुपर्ने र नभए बेइजिङले दबाब दिएको रूपमा बुझ्ने भनेर चेतावनी दिएका थिए । त्यसमा टिप्पणी गर्दै चीनले पनि बलजफ्ती कूटनीति गरेको प्रतिक्रिया जनाएको थियो ।

परराष्ट्र विज्ञहरूले समुद्र तहदेखि हिमालयसम्म हुन लागेको लुको भ्रमणले अमेरिकाले यस क्षेत्रलाई दिएको चासोलाई प्रस्ट पार्ने बताउँछन् । भारत र श्रीलंका हुँदै नेपाल आएका उनी यहीँबाट स्वदेश फर्किने छन् । 

लु दक्षिण तथा मध्य एसिया मामिलालाई हेर्ने सहायक विदेशमन्त्री भएकाले यस क्षेत्रका सम्पूर्ण विषय उनैले माथिल्लो तहमा रिपोर्टिङ गर्छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सत्ताको अन्तिम समयमा लुको दक्षिण एसिया भ्रमण भएको हो । आगामी २० जनवरीपछि बाइडेनको बहिर्गमन र ट्रम्पको आगमन हुँदै छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise