काठमाडौं : खड्का ल्यान्ड डेभलपमेन्ट प्रा. लि. र नेपाल स्काउटबीचको विवादले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि विवादित भएका छन् ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रा. लि. खड्काकै कम्पनी हो । यो कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र २ वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको छ । खड्काको कम्पनीले उक्त जग्गामा पार्टी प्यालेस संचालन गर्दै आएको छ भने २ वटा भवन विभिन्न पसलहरूलाई भाडामा लगाउँदै आएको छ ।
तर, भाडाबापत पैसा उठाए पनि खड्काको कम्पनीले स्काउटलाई पैसा तिर्न अटेर गर्दै आएको भनेर मन्त्री खड्कामाथि नै प्रश्न उठेको हो ।
नेपाल स्काउटका अनुसार खड्का ल्यान्ड डेभलेपमेन्ट प्रा. लि.ले ५ करोड १९ लाख २७ हजार ८५१ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो विवरण स्काउटले संसदीय समितिलाई पनि उपलब्ध गराएको छ ।
यसअघि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले स्काउटसँग भाडाको विषयमा जबाफ मागेको थियो । सोही आधारमा बिहीबार स्काउटले जबाफी पत्र पठाएको हो, जसमा खड्का ल्यान्डको बक्यौता ५ करोड १९ लाख २७ हजार ८५१ रुपैयाँ रहेको उल्लेख छ ।
स्काउटले १४ माघ २०८० मा राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएको १० महिनापछि गत सोमबार सांसदहरूलाई वितरण गरिएको थियो । स्काउटले दिएको विवरणका आधारमा छलफल चलाउने तयारी समिति सचिवालयको छ ।
स्काउटको तथ्यांकअनुसार खड्काको कम्पनीले २०८१ वैशाखसम्म तिर्नुपर्ने भाडा रकम ६ करोड ६९ लाख पुगेको थियो । सम्झौता समाप्त भएयता खड्काको कम्पनीले १ करोड ५० लाख रकम जम्मा गरेको छ । यस आधारमा उक्त रकम तिर्न बाँकी रहेको हो ।
खड्काको कम्पनीले स्काउटलाई पत्र पठाउँदै साँवा रकम तिर्ने तर जरिमाना भने नबुझाउने अडान लिएको छ । साँवा रकम तिर्ने तर जरिमाना नतिर्ने अडानले पनि खड्कामाथि कतिपयले प्रश्न उठाएका छन् ।
स्काउटका अनुसार खड्काको कम्पनीले चैत मसान्तसम्मको जरिमाना मात्र २ करोड ७८ लाख ६१ हजार ५०० रुपैयाँ तिर्नुपर्ने छ । जरिमानाबाहेक खड्काको कम्पनीले भाडाको साँवा २ करोड ४० लाख ६६ हजार ३५१ रुपैयाँ तिर्नुपर्ने छ ।
खड्काको कम्पनीले जरिमाना तिर्नु नपर्ने दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपाल स्काउटले पनि जरिमानासहित आफूले रकम पाउनुपर्ने दाबी गर्दै जिल्ला अदालतमै रिट दिएको छ । दुवै मुद्दा विचाराधीन छन् ।