२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

ADV
मध्यान्ह
२०८१ पुष ७ गते २१:२२
आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने सुझाव दिएका छन् । 

काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृंखलामा उनले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बद्नाम हुने बताए । 

कतिपय सञ्चार माध्यमले जानाजानी आरोपैआरोपको शृंखला सुरु गरेको उनले बताए । पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भएपनि आलोचना गर्नु भनेको आरोपको वर्षा लगाउनु नभएको उनको भनाइ छ । उनले भने, ‘पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगतले खेपिरहनुपर्छ ।’

अहिले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको अध्यक्ष बस्नेतले औँल्याए । पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उनले बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताए । 

उनले प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र लागू गराउने रहेको र काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखिएको उल्लेख गरे । पोखरेलले पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन नहुने भन्दै आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले विशेष सक्रियता देखाउनुपर्ने सुझाव राखे । 

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्न्ने धारणा रहेको उल्लेख गर्दै त्यसमा प्रश्न उठाउने काम पत्रकार आफैले गर्न नहुने बताए । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक समेत रहेका उनले अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसाको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुखद् भएको उल्लेख गरे । 

कार्यक्रममा सहभागी अग्रज पत्रकार अरुण बरालले अहिले पत्रकारितामा आर्थिक संकटसँगै सामग्री (कन्टेन्ट)को संकट देखिएको उल्लेख गरे । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत चार निर्देशिका रहेको र यसको कार्यान्वयन गर्दा समाचार विवादरहित हुने समेत औँल्याए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुवास राईले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise