२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी आचारसंहिता विपरीत गतिविधि गरेको आरोप

shivam cement
नविन श्रेष्ठ
२०८२ भदौ ८ गते २०:५७
प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी आचारसंहिता विपरीत गतिविधि गरेको आरोप

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईले कर्मचारी आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लगाएका छन् । आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष वाईवाले प्रमुख प्रशासकीय अधिकृत राईले राजनीतिक स्वार्थ र निश्चित गुठबन्दीमा परिचालित भइ गाउँपालिकाको बदनाम गर्ने गतिविधि गरेको दाबी गरे ।

‘उहाँले गाउँ कार्यपालिकाको बैठक अघि नै अनधिकृत रूपमा हाजिर गरेर बाहिरिनुभएको छ, मिडियामा भ्रामक सूचना दिनुभएको छ । यस्तो अमर्यादित र जवाफदेही विपरितका कर्मचारीलाई हामी स्वीकार्दैनौं,’ अध्यक्ष वाईवाले पत्रकार सम्मेलनमा भने । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २ गते राईलाई प्रमुख प्रशासकीय अधिकृतमा सिफारिस गरेको थियो । अध्यक्ष वाईवाले बैठकपछि जानकारी दिने भने पनि राईले ५ गते नै गाउँपालिकामा आएर हाजिर गरेर विभिन्न सञ्चारमाध्यमलाई गलत सूचना दिएको आरोप लगाए । 

वडा नं. ३ की सदस्य शंखमाया भोलनकी आमाको निधनमा श्रद्धाञ्जली कार्यक्रममा रहेका बेला राईले हाजिर गरेर बाहिरिएको र त्यसपछि ‘अध्यक्षले रजिस्टर लिएर भाग्यो’भन्ने भ्रामक समाचार फैलाएको वाईवाको आरोप छ ।

गाउँपालिकामा बिहान सवा १० बजेभित्र कर्मचारीले अनिवार्य हाजिर गर्नुपर्ने र सो समयपछि सुरक्षाकर्मीमार्फत सुरक्षित गर्ने व्यवस्था रहेको अध्यक्ष वाईवाले जानकारी दिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख प्रशासकीय अधिकृत गाउँ कार्यपालिकाको सदस्य–सचिव भएर निर्णय कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर राई बैठकमै सहभागी नभएकोले जवाफदेही विपरित देखिनुभएको छ’ वाईवाले भने ।

गाउँ कार्यपालिकाको बैठकले राईलाई अस्वीकार गर्ने निर्णय गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अर्को कर्मचारी पठाउन आग्रह गरेको अध्यक्ष वाईवाले स्पष्ट पारे ।

ADV

सम्बन्धित खबर

Advertise