काठमाडौं : विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार पौडेलको बयान तथा थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पौडेलमाथि केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर करिब १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेलसहित ६ जना र आपूर्तिकर्ता कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि विरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार, खरिद प्रक्रिया दौरान स्पेसिफिकेशन विपरीत कम क्षमताको प्रोसेसर जडान गरी राज्यलाई हानि पुयाइएको पाइएको थियो। कम क्षमताका उपकरणका कारण कार्यसम्पादन क्षमता करिब १४ प्रतिशतले घटेको अख्तियारको दाबी छ ।
यद्यपि, यसअघि दायर गरिएका अन्य मुद्दामा पौडेलमाथि थुनामै राख्ने आदेश भएकाले विशेष अदालतको यो आदेशपछि मात्रै उनी स्वतन्त्र हुने अवस्था भने छैन ।