रौतहट : गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिले आइतबार गौरमा जनप्रदर्शन गरेको छ ।
राम जानकी धर्मशालाबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चौकमा कोणसभामा परिणत भएको थियो । संघर्ष समितिका संयोजक राम किशोर यादवको नेतृत्वमा निस्किएको र्यालीमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
कोणसभालाई जसपा, नेकपा, कांग्रेसलगायत विभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए। सम्बोधन गर्ने नेताहरुले गौर हत्याकाण्डलाई राजनीतिक विषयका रुपमा व्याख्या गर्दै सोअनुसार निरुपण गर्नुपर्नेमा जोड दिएका थिए । सभालाई रेवन्त झा, अनिल सिंह, बबन सिंह, योगेन्द्र यादव, रामचन्द्र गिरि लगायतले सम्बोधन गरेका थिए ।
यसअघि समितिले प्रदर्शनलाई सफल पार्न गाउँ–गाउँमा जनजागरण कार्यक्रम सञ्चालन गरेको थियो । सर्वोच्च अदालतको परमादेशलाई मधेशी समुदायमाथिको ‘सुनियोजित प्रहार’ भन्दै पछिल्लो दिनहरुमा तराई–मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन तीव्र बनेको छ ।