अर्घाखाँची : अर्खाखाँचीको भूमिकास्थान नगरपालिका– ७ नुवाकोट चिदीचौर र मालारानी गाउँपालिका– ३ मा निर्माण भएका १५ शय्याको आधारभूत अस्पताल २ वर्षदेखि अलपत्र परेका छन् । अस्पताल भवन भए पनि जनशक्ति छैन । जनशक्ति नभएपछि स्थानीय सरकारले अस्पताल संचालन गर्ने सामाथ्र्य राख्न सकेका छैनन् ।
भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाले आर्थिक अभावका कारण भवन संचालन गर्न नसकेपछि केन्द्र सरकारको करोडौं रुपैयाँ लागतमा बनेका सुविधा सम्पन्न अस्पतालका भवन अलपत्र परेका हुन् ।
भवन निर्माण भए पनि आन्तरिक स्रोत न्यूनतम भएका यी २ पालिकामा निर्माण भएका भवनहरू अस्पताल संचालनका लागि वार्षिक रूपमा आवश्यक पर्ने न्यूनतम खर्च जुटाउने अवस्थामा स्थानीय सरकार नभएपछि संचालन गर्न नसकिएको भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा बताउँछन् ।
पटकपटक संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरे पनि कुनै चासो नदिएका कारण अस्पताल संचालन गर्न कठिन भएको मेयर थापा गुनासो गर्छन् । थापा भन्छन्, ‘संघ सरकारको सहयोगमा भवन निर्माण भयो तर स्थानीय सरकारले त्यो बजेट थेग्न सक्दैन । कसरी संचालन गर्ने, समस्या छ ।’
सरकारको मापदण्ड र अस्पतालका लागि आवश्यक पर्ने विषय विशेषज्ञ डाक्टरसहितको जनशक्ति, तोकिएको प्रयोगशालालगायतका सेवा दिनेगरी स्थानीय तहले थेग्नै नसक्ने र यसमा माथिल्लो सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
पूर्वमेयर रेशम थापा भन्छन्, ‘केन्द्र सरकारबाट बजेट पारेर अस्पताल निर्माण गरियो तर संचालनको सम्भावना र आवश्यकताको पूर्वयोजना नहुँदा संचालन गर्न नसकिने समस्या छ ।’
यसका लागि पहल गर्ने निर्वाचित जनप्रतिनिधिले नै हो भन्दै थापाले भने, ‘उहाँहरू पैसा नभएको बहानामा उम्कनु गलत हुन्छ ।’ अस्पताल संचालनका लागि धेरै पहल गरिएको तर सम्भव नभएको भन्दै थापाले अहिले प्रदेश मुख्यमन्त्री यसै जिल्लाका भएपछि केही होला भन्ने आशा व्यक्त गरे ।
केन्द्रका स्वास्थ्यमन्त्रीसँग चिठी पत्र, डेलिगेसन गएर अनुरोध गरेका भए पनि छिनछिनको सरकार परिवर्तनले पनि प्रभावित बनाएको उनले बताए । ‘यो स्थानीय तहले मात्र संचालन गर्न सक्ने अस्पताल होइन, हामी सबैले पहल गर्नुपर्छ’, थापाको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने ५, १० र १५ शय्याका अस्पतालको संरचना र सेवाको मापदण्ड तोकेको थियोे । सो मापदण्डअनुसार १५ शय्याको अस्पतालका लागि नवौं तह वा दशौं तहको मेडिकल जनरलिस्ट, फिजिसियन चिकित्सक हुनुपर्छ ।
उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन (प्रशासन एकाइ) अनिवार्य आवश्यक पर्छ । यसैगरी अस्पतालमा बहिरंग सेवा, प्रयोगशाला सेवा, ल्याब टेक्निसियन, कविराज आयुर्वेद, रेडियोलोजिस्ट सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा र अस्पताल फार्मेसी हुनुपर्ने मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ ।
सोही मापदण्डअनुसार नगरपालिकाले अस्पताल संचालन गर्न नसक्दा निर्माण सम्पन्न भएका सुविधा सम्पन्न भवनहरू अलपत्र परेका छन् । बिरामीहरू सामान्य उपचारका लागि सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता छ ।
अस्पतालका लागि सरकारले ३० जनाको दरबन्दी मापदण्डमा तोकेको छ । गाउँपालिकाहरूमा सुविधा सम्पन्न भवन बनाउने अन्य स्रोत सरकारले व्यवस्थापन गर्न नसक्दा अस्पताल संचालन गर्ने पालिकासँग क्षमता नभएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई बताउँछन् । मालारानी गाउँपालिकामा पनि भूमिकास्थान नगरपालिकाको जस्तै समस्या छ । ‘भवन छ तर बिरामी जाँच्ने डाक्टर छैनन् । स्रोत छैन । अस्पताल भवनको स्याहारसुसार गर्ने जनशक्तिसमेत नभएपछि यी अस्पताल संचालन गर्न कठिन भएको छ’, उनको भनाइ छ ।
अस्पताल भवन संचालन हुन नसकेको विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण भएको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । उनले भने, ‘सरकारको ध्यानाकर्षण भएको छ । संघीय सरकारले भवन बनायो, जनशक्ति पठाएन । हामी छलफल गरेर निकास निकाल्छौं ।’