२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पर्सामा आजदेखि हैजाको खोप दिइने

shivam cement
२०८२ असोज २६ गते ०९:०२
Shares
पर्सामा आजदेखि हैजाको खोप दिइने

पर्सा : पर्साका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए ।

स्वास्थ्य कार्यालय पर्साले शनिवार आयोजित हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्ला स्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा असोज २६ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जय मोद ठाकुरले आजदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। “यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको सङ्क्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनाएको छ । यो अभियानमा एक वर्ष भन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्य स्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एक पटक खोप दिइनेछ ।

यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको  उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।

जनस्वास्थ्य अधिकृत ठाकुरले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीसहित सर्वसाधारणका लागि खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार पर्सामा छ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ ।

सम्बन्धित खबर