दाङ : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ ।
बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताए ।
नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ । सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए ।