२०८१ पुष १९ गते शुक्रवार / Jan 03 , 2025 , Friday
२०८१ पुष १९ गते शुक्रवार
Ads

धुनियाले पाएनन् काम

ADV
जुनु भट्टराई
२०८१ पुष १६ गते ०६:३०
धुनियाले पाएनन् काम

विराटनगर : विराटनगर महानगरपालिका– ९ मधुमारा बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन् । यही पेसाले उनको ५ जनाको परिवार पनि दुःखसुख पालिँदै आएको छ ।

गत वर्षदेखि भने बजारमा सिरक, डसना बनाउन आउने ग्राहक भेटिनै छाडेपछि यो पेसाले परिवार कसरी पाल्ने भन्ने चिन्ता सुरु भएको छ । 

५० वर्षीय मो. इस्लामसँग जाडो सुरु हुँदा नहुदै १ दिनमै ४०० देखि १ हजार ५०० सम्म कमाउने गरेको अनुभव छ । पहिलेपहिले १ दिनमा ८ देखी १० वटासम्म सिरक, डसना बनाउने गरेको सुनाउँछन् उनी । 

सानै उमेरदेखि सिरक, डसना बनाउने पेसामा लागिपरेका उनी अहिलेसम्म पनि सोही कार्य गरेर परिवारका ४ सदस्यको पालनपोषण गरिरहेका छन् । तर, यो वर्ष काम आउने छाँटकाँट नदेखिएपपछि उनमा पेसाप्रति नैराश्य पलाएको छ ।

‘यो वर्ष पुस आधा हुन लागिसक्यो, खै ! एउटा पनि अर्डर आएको छैन, के कमाइ हुन्छ ?’, मो. इस्लाम भन्छन्, ‘यस्तै हो भने धुनियाको कामले अबका दिन खान पनि पुर्‍याउन गाह्रो छ ।’

मधुमाराका महमद मात्र होइन, तीनटोलियाका रफिक सेखको पनि पीडा उस्तै छ । धुनियाको कामबाट परिवार पालिरहेका उनलाई यस वर्षको बजारको अवस्थाले कामको विकल्प खोज्न बाध्य भएको बताउँछन् । 

बाबुका पेसागत बिँडो आफूले थामे पनि ९ वर्षे छोरालाई भने धुनियाको काममा नलगाउने निर्णय गरेका छन् उनले । ‘यो मसँगै काम गर्दै आएको थियो तर अव मसँग राख्दिनँ’, छेउमा खेल्दै गरेको छोरालाई देखाउँदै सेखले भने, ‘धुनियाको काम मेरो हातमा त आउन छाड्यो, यसले के गर्छ ? त्यसैले अब जुत्ता–चप्पल सिलाउने काममा राखिदिन्छु । त्यसले सधैँ धेरथोर कमाइराख्छ ।’

विगतका वर्षहरूमा सिरक–डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिएपछि कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको सेखको भनाइ छ । औपचारिक शिक्षा नलिएका उनले बाबु–बाजेबाट सिकेको सीप लिएर स्वरोजगार बने पनि अबको समय त्यस्तो नरहेकामा उनलाई चिन्ता छ । 

यसरी सिरक–डसनाको मागसँगै बनाउने पेसासमेत संकटमा पर्दै गएको उनी बताउछन् ।  

‘अहिले बजारमा विभिन्न म्याट्रेस पाहिन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्र्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक–डसना बनाउन थालेपछि झन् कपासको प्रयोग गरेर सिरक–डसना बनाउने काम घट्दै गएको छ’, रफिक भन्छन् ।

मधुमाराका महमद इस्लाम र तीनटोलियाका रफिक सेख मात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि बजारमा डसना र सिरकहरूको माग नदेखिएपछि विराटनगरका सिरक–डसना बनाउने धुनियादेखि विक्री वितरण गर्ने व्यापारीहरूमा चिन्ता बढ्दै गएको छ । 

विगतका वर्षहरूमा जाडो सुरु हुँदा नहुँदै अर्थात् मंसिरको दोस्रो सातादेखि नै व्यापार एक्कासि बढ्ने गरेकामा यस वर्ष पुस लागिसक्दा बजारमा सिरक–डसनाको माग शून्य देखिदा सिरक–डसना व्यवसायी तथा धुनिया चिन्तित देखिएका हुन् ।

पोहोरसम्म जाडो लाग्दा नलाग्दै सिरक–डसनाको अर्डर आउन सुरु भइहाल्ने भएकाले रेडिमेडसमेत राख्ने गरे पनि अहिले यहाँ पनि बनाइन्छ है भनेर देखाउन मात्र राख्नुपर्ने बाध्यता देखिएको बाटारोड विराटनगरस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवाल बताउँछन् ।

‘पहिले जाडोमा सय प्रतिशत नै कपासको प्रयोग भइसक्थ्यो, अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुँदैन’, व्यवसायी अग्रवाल भन्छन्, ‘गत वर्ष पनि मंसिरको दोस्रो हप्तादेखि नै बजारमा सिरक–डसनाको माग हुन्थ्यो, यसपालि पुस सकिन लागिसक्यो, एउटा अर्डर पनि आएको छैन ।’ 

अहिले विगतका वर्षहरूमा सिरक या डसना बनाउन नेपाली कपासको माग धेरै हुने गरेकामा यस वर्ष पुरानो स्टकका कपास पनि प्रयोग हुन नसकेको उनको भनाइ छ ।

महावीररोडस्थित शिवम् इम्पोरियरका विशाल शाह पनि यो वर्ष अहिलेसम्म सिरक–डसनाको माग शून्य बराबर रहेको बताउँछन् । 

‘पहिले ग्राहक हामीकहाँ आएर अर्डर गरेर मात्र बनाउँथे तर अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन’, शाहले भने, ‘केही वर्षअघिसम्म बजारमा सधैं भीडभाड हुन्थ्यो तर हिजोआज धुनियाहरू घरघर पुगेर सिरक–डसना बनाइदिने भएकाले पनि बजारमा यसको अर्डर कम हुने गरेको छ ।’

प्रायः व्यापारीहरूले बनाउने सिरक–डसनामा प्रयोग हुने कपास लोकल हुने भएकाले घरघरमा गएर धुनियाले बनाउने सिरक–डसना अन्यभन्दा गुणस्तरीय हुने उनी दाबी गर्छन् । 

हामी गार्मेन्टका कतरनलाई पेलेर बनाएको फ्रेस कपास प्रयोग गर्छौं, त्यसैले हाम्रो सामानमा क्वालिटी हुन्छ’, शाह भन्छन्, ‘कपडा जस्तो बर्सेनि फेरिरहने कुरा नभएकाले ग्राहकहरूले सिरक–डसना बनाउनुअघि त्यसमा प्रयोग हुने कपासको गुणस्तर कस्तो छ भनी ध्यान दिनु आवश्यक छ ।’ 

एउटा सिरक बन्न ४ देखि ५ किलोसम्म कपास लाग्छ तर ग्राहकको मागअनुसार जतिको पनि बनाइदिने शाह बताउँछन् ।

व्यापारीहरूका अनुसार १ जोर सिरक बन्न १ हजारदेखि ७–८ हजारसम्म मूल्य पर्छ । डसनाको भने ६–७ सयदेखि ४–५ हजार मूल्य पर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise