२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

प्रशासनको निर्देशन अटेर गरी सर्लाहीमा क्रसर उद्योग सञ्चालन

draupadi film
लक्ष्मण यादव
२०८१ पुष १९ गते ११:४७
प्रशासनको निर्देशन अटेर गरी सर्लाहीमा क्रसर उद्योग सञ्चालन

सर्लाही : सर्लाहीका क्रसर उद्योग व्यवसायीले प्रशासनको निर्देशन अटेर गरी उद्योग सञ्चालन गरिरहेका छन् । केही क्रसर उद्योगीले दिनमा बन्द राखे पनि रातिको समयमा चलाउने गरेको पाइएको छ ।

प्रशासनले जिल्लाको बसबरिया गाउँपालिका-३, स्थित कोठियार टोलमा मापदण्ड विपरीत सञ्चालनमा रहेको अभिनित वासिङ उद्योग र अभिनित ढुंगा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको भएपनि उद्योगीले बलमिच्चाई गरी उद्योग सञ्चालन गरिरहेको पाइएको छ ।

स्थानीयले गरेको गुनासोको आधारमा मध्यान्हकर्मी बिहीबार राति ७ बजे त्यहाँ पुग्दा उद्योग सञ्चालनमा रहेको पाइएको छ । बिहीबार राति उद्योग सञ्चालनमा रहेको भिडियो प्रमाण मध्यान्हसँग सुरक्षित छ ।

स्रोतका अनुसार यहाँ सञ्चालनमा रहेको ढुंगा क्रसर र वासिङ उद्योग नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको जेठो छोरा अभिनितको नाममा दर्ता रहेको छ । सत्ता र शक्तिको दुरूपयोग गर्दै उनले बलमिच्चाई गरी अवैध क्रसर सञ्चालन गरिरहेको स्रोतको दाबी छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकरी होमप्रसाद भुजेलले तत्काललाई बन्द गर्न निर्देशन गरिएका उद्योग प्रशासनको अन्तिम निर्णय नआउन्जेलसम्म सञ्चालन गरेको पाइएमा कारबाही गरिने बताए ।

गत पुष ९ गते जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरु सम्मिलित जिल्ला अनुगमन समितिले लालबन्दी–१७ रानिगन्जको प्रिन्स क्रसर उद्योग, बागमती–७ को जय माँ दुर्गा र बागमती–४ को हरेकृष्ण क्रसर उद्योगलाई पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । 

त्यस्तै, गत पुस १० गते जिल्ला अनुगमन उपसमितिका संयोजक तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोको नेतृत्वमा खटिएको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर–५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर–५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुर–८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ प्रा.लि. हरिपुर–५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसैगरी, गत पुस ११ गते अभिनित वासिङ उद्योग र अभिनित ढुंगा क्रसर उद्योग बसबरिया–३, बरहथवा गिट्टी बालुवा प्रशोधन तथा सप्लायर्स बरहथवा–८, राहुल गिट्टी बालुवा वासिङ सेन्टर बरहथवा–८, गौतम गिट्टी बालुवा प्रशोधन उद्योग बरहथवा–१, हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनी बरहथवा–१, सर्लाही बालुवा प्रशोधन एण्ड क्रसर उद्योग हजरिया र बालुवा वास प्लान्ट बागमती–१२ लाई तत्काल उद्योग बन्द गर्न पत्र दिइएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise