२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

करारका डाक्टरको भर, १६ जना डाक्टरको दरबन्दी खाली

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष २३ गते ०६:३५
करारका डाक्टरको भर, १६ जना डाक्टरको दरबन्दी खाली

अर्घाखाँची : जिल्ला अस्पताल अर्घाखाँची अहिलेसम्म काज सरुवा तथा करारमा नियुक्ति गरिएका डाक्टरहरूको भरमा संचालन भएको छ  । ५० बेडको सो अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित १६ जना डाक्टरको दरबन्दी भए पनि ती दरबन्दी सबै खाली रहेका अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।

रानाका अनुसार जिल्ला अस्पतालमा १० जना विशेषज्ञ डाक्टर, ६ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हालसम्म प्रदेश सरकारले दरबन्दीअनुसारका डाक्टरहरू नपठाउँदा अर्घाखाँचीका बिरामीहरू मर्कामा परेका छन् । अहिले अर्घाखाँची अस्पतालमा कुकुरले टोकेमा लगाउने रेबिज भ्याक्सिनसमेत नपाइने भएको छ ।

जिल्ला अस्पतालमा मेडिकल अधिकृत आठौं तहमा ६ जनाको दरबन्दी छ भने १० जना विशेषज्ञ डाक्टरको दरबन्दी पूरै खाली छ । ५० बेडको अस्पतालमा जनरल फिजिसियन डाक्टर,  हाडजोर्नी रोग विशेषज्ञ, सर्जन, अपरेसन कन्सल्ट्यान्ट, प्याथोलोजिस्ट डाक्टर, कन्सल्ट्यान्ट डाक्टर, रेडियोलोजिस्ट, स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, दाँत रोग विशेषज्ञ, मनोचिकित्सक र जनरल सर्जनको दरबन्दी खाली रहेको अस्पतालका सुचना अधिकारी रानाले बताए ।

उनले भने, ‘अस्पतालमा अहिले बरिष्ठ एमडीजीपी डाक्टर जगन्नाथ तिवारीको नेतृत्वमा ७ जना डाक्टरहरू करारमा नियुक्ति गरी अस्पताल संचालन भएको छ ।’ डाक्टर तिवारी संघीय अस्पतालबाट काज सरुवामा अर्घाखाँची आएर यहाँका बिरामीको सेवा गरिरहेका छन् भने अर्का एमडीजीपी डाक्टर अशोक शाहले जिल्ला अस्पताल छाडिसकेका छन् ।

उनको ठाउँमा डाक्टर पवनकुमार शाह, नेक्स साइमन प्रोजेक्टका डाक्टरले अर्घाखाँचीबासीलाई सेवा दिन सुरु गरेका छन् ।

अस्पताल संचालनमा डाक्टर तिवारी र अन्य करारका डाक्टरहरूले निकै मिहिनेत गरेका मात्रै छैनन्, जिल्लाबासीको मन जित्न सफल पनि भएका छन् । अर्घाखाँचीको ५० बेडको अस्पतालमा खचाखच भरिएका बिरामीलाई गुणस्तरीय सेवा दिएर डाक्टरहरूले जिल्लाबासीको सेवा गरिरहेका सूचना अधिकारी रानाले मध्यान्हलाई बताए ।  

जिल्ला अस्पताल अर्घाखाँचीमा भवनको समस्याले गर्दा  भुइँमा  राखेर बिरामीको उपचार हुने गरेको छ । अहिले मौसम परिवर्तनसँगै जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीको संख्या निकै बढेको छ  ।

अस्पतालमा बिरामीको चाप बढेपछि भर्ना भएर बस्नुपर्ने बिरामीलाई बेड अभाव हुने गरेको जिल्ला अस्पताल स्रोतको भनाइ छ । अस्पतालमा बेड अभाव भएपछि बिरामीले निकै  कष्ट सहेर पनि उपचार सेवा लिइरहेका छन् ।

एकै प्रकृतिका धेरै बिरामी भएपछि बेड अभावमा बेन्च जोडेर उपचार गरिएको अस्पताल बताउँछ । जिल्ला अस्पताल आउने अधिकांश बिरामीलाई बेड अभावमा प्यासेजमा बेन्च जोडेर उपचार गर्नुपर्ने बाध्यता छ ।

अर्घाखाँची र छिमेकी जिल्ला गुल्मी, प्युठानको उत्तरी क्षेत्रका बिरामीले अर्घाखाँची अस्पतालबाट सेवा लिन्छन् । यहाँ दैनिक ओपीडीमा ४०० र इमर्जेन्सीमा ६० बढी बिरामीले उपचार सेवा लिने गर्छन् । त्यसमध्ये अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

सुविधा सम्पन्न भवन निर्माण समयमै सुरु नहुँदा अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई प्यासेजमा र बेन्चमा राखेर उपचार हुने गरेको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताए ।

’बिरामीको चाप बढेपछि राख्ने स्थानको समेत अभावमा बेन्चलाई र भुइँलाई बेड बनाएर अस्पतालले उपचार गर्न थालेको छ’, डाक्टर तिवारीले भने, ‘जाडो लागेपछि हामी हरेक दिन ओपीडीमा ३०० बढी र इमर्जेन्सीमा ६० बढी बिरामीको उपचार गरिरहेका छौं ।’

मौसम परिवर्तनसँगै बिरामीको चाप अत्यधिक बढेको र जताजता व्यवस्थापन गरेर भए पनि बिरामीको उपचार गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

अस्पतालले प्यासेजमा उपचारका लागि १५ वटाभन्दा बढी अस्थायी बेड तयार पारेको उनले बताए । यसले बिरामी र कुरुवालाई भने निकै सास्ती भएको छ । भवन निर्माणका लागि कागजी प्रक्रिया मिलाउन समय लागेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise