काठमाडौं : गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भए पनि नेपाली विद्यार्थी विपीन जोशीको नाम परेको छैन । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्दीलाई रिहा गर्न हमास सहमत भएको हो ।
७ अक्टोबर २०२३ मा हमास लडाकुले इजरायलको गाजा नजिकैको शहरबाट अपहरण गरी लगेका बन्दीहरूमध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागिएको सूचना सार्वजनिक भएको छ । इजरायल–हमासबीच युद्धविरामको प्रयासका लागि कतारमा छलफल जारी छ । यदि युद्धविराम भयो भने पहिलो चरणमा ती बन्दीहरू रिहा गरिने हमासले भनेको छ । ती बन्दीहरूको सूचीमा इजरायली नागरिकहरू मात्र छन् ।
यसअघि आफ्नो नियन्त्रणमा १०० जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमासले पहिलो सूचीमा ती ३४ जनाको नाम सार्वजनिक गरेको हो । हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची सार्वजनिक गरेका छन् । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ । हमासले सार्वजनिक गरेको सूचीमा महेन्द्रनगरका जोशीको नाम नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनले लडाकु समूह हमासले स्वदेशी बन्दीहरूलाई मात्र साटफेर गर्ने भएकाले विदेशी नागरिकलाई रिहा गर्ने सम्भावना नरहेको बताए ।
‘हामीलाई प्राप्त जानकारीअनुसार हमासले रिहा गर्न लागेका ३४ जनामा कुनै पनि विदेशी नागरिक छैनन् । त्यसैले नेपाली विद्यार्थी जोशीको नाम छैन’, राजदूत पण्डितले मध्यान्हसँग भने, ‘इजरायल सरकारको नियन्त्रणमा रहेका हमासका लडाकुलाई रिहा गराउन उसले बन्दी साटफेर गरेको हो, जसमा सबै इजरायली नागरिक मात्र छन् ।’
राजदूत पण्डितका अनुसार पहिलो चरणमा रिहा गर्न लागिएका बन्दीहरूमा अधिकांश महिला, बालबालिका र वृद्धवृद्धाहरू छन् । गत वर्ष २० असोजमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो । आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । आक्रमणमा हजारभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटनापछि जोशी अहिलेसम्म बेपत्ता छन् । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले जोशीलाई हमास लडाकुले कब्जामा लिएर लगेको बताएका छन् ।
राजदूत पण्डितले जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी रहेको बताए । ‘हाम्रो प्रयास जारी छ तर उनको अवस्था अझै अज्ञात छ’, उनले भने । केही समयअघि सार्वजनिक भएको एक भिडियो फुटेजमा जोशी जीवितै रहेको सूचना आएको थियो । यसै वर्ष मंसिरमा नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेका सूचना पाएको बताएका थिए ।
सूचीमा रहेका नामहरूमा १० महिलासहित केही युवा छन् । सूचीमा रहेका धेरै बन्दीहरू बिरामी छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीसहित खाडी देशका राजदूतहरूलाई जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । हमासको नियन्त्रणमा रहेका ती बन्दीहरूको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेका कतार र
इजिप्टसँग पनि मन्त्री राणाले आग्रह गरेकी थिइन् । मन्त्री राणाले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आयोजित विभिन्न कार्यक्रमहरूमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग आग्रह गरेकी थिइन् ।