वीरगन्ज : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण विरगन्जको विकास ओझेलमा परेको उनले बताए ।
वीरगन्जस्थित नारायणी रंगशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए ।
‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर वीरगन्ज आउनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखानामा उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योग्दान केही हुनुपरेन ?’ वीरगन्जको विकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको विकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडिपछाडि गर्नेलाई सोध्ने बेला भएको छ कि त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर । वीरगन्जमा लुट्ने काम मात्रै उनीहरुले गरे ।’
वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने प्रवृत्ति देखिएको उनले बताए । ‘वीरगन्जबाट चार गुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको विकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ । जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी विकास गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘२१औं शताब्दीमा वीरगन्जसँग जुन अन्याय, अत्याचार, विभेद भइरहेको छ हामी चुप लागेर बस्दैनौं । वीरगन्जको मानसम्मान, विकास, गौरवका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसावकिताव गर्छौं ।’
विभिन्न खेलकुदमा मधेश अगाडि रहेको इतिहास रहेको बताउँदै उनले मधेशलाई पछाडि पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटबल, भलिबललगायतका विभिन्न खेलमा मधेश जहिले पनि अगाडि भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निर्माण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको विकासमा ध्यान दिनुपर्ने बताए ।
वीरगन्जको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षण पश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसँग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको विकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भूमिका खेलेको वीरगन्जलाई यस्तो उजाड किन बनाउनुभयो ? के वीरगन्ज प्रयोग गर्ने र फ्याक्ने ठाउँ हो ? के कर तिर्ने वीरगन्जले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा वीरगन्जका लागि सरकारविहिनता किन ? अहिलेको २१औं शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राख्नु, अब वीरगन्ज चुप लागेर बसदैन ।’