
रोल्पा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय पोलिटब्युरो सदस्य चुडामणि ओली (आदर्श सी) ले अबको विकल्प नेकपा भएको दाबी गरेका छन् ।
समाज परिवर्तन युवा समूह, परिवर्तन गाउँपालिका–३, तल्लो केवरी, रोल्पाको १२औं वार्षिक उत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आदर्श सीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुध्रिनुपर्ने बताए ।
उनले भने, “कांग्रेस, एमाले र माओवादी केन्द्रका केही नेता–कार्यकर्ता इमानदार छन्, तर शीर्ष नेतृत्वका कारण देश बर्बाद भएको छ । जनताका छोराछोरीले पढ्न, स्वास्थ्य सेवा पाउन र रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ ।”
उनले हालैको सुनकाण्ड, भ्रष्टाचार र नेतृत्वको गैरजिम्मेवारीले जनता निराश भएको उल्लेख गरे । “रोल्पाका नेताहरू झन् बिग्रेका छन् । अब नेतृत्व नेकपाले लिनुपर्छ,” उनले भने ।
आदर्श सीले प्रचण्ड, ओली, देउवा, माधवकुमार नेपाल र झलनाथ खनालको विकल्प नभएर नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्व आवश्यक रहेको जिकिर गरे ।
उनले थपे, “कांग्रेसका कार्यकर्ताले समाजवादबाट सुख–समृद्धि आउने अपेक्षा राखेका छन् । माओवादी र एमालेका कार्यकर्ताले कम्युनिस्ट व्यवस्थाबाट रोजगारी, शिक्षा र स्वास्थ्य सुविधा पाइने विश्वास गरेका थिए । तर, शीर्ष नेतृत्वको भ्रष्टाचार र गैरजिम्मेवारीले जनताको विश्वास टुटेको छ ।”
आदर्श सीले रोल्पाबाट पटक–पटक मन्त्री बनेका नेताहरू कृष्णबहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, तारा घर्ती, जोखबहादुर महरा र दीपेन्द्रकुमार पुनले समेत जिल्लाको विकासमा ध्यान नदिएको आरोप लगाए ।
“रोल्पाले तीनपटक अर्थमन्त्री पाउँदा पनि बजेट ल्याउन सकेन । सहिद मार्ग अझै राम्रो बन्न सकेको छैन,” उनले भने ।
नेताहरू विदेशी शक्तिसँग बिक्री भएको र जनताको हितमा काम गर्न नसकेको उनको भनाइ छ । “नेपाली जनताले अमेरिका र भारतको दलाली रुचाउँदैनन् । अब नेकपाले जनताको नेतृत्व गर्नेछ,” उनले जोड दिए ।