
काठमाडौं : राजनीतिक दलहरू विस्तारै आगामी फागुन २१ को चुनाव केन्द्रित हुन खोजेका छन् । चुनाव नै नहुने हो कि भन्ने आशंकाबीच राजनीतिक रूपमा संसद् पुनर्स्थापनाको माग राख्ने नीति कतिपय दलको छ । तथापि संसद् पुनर्स्थापनाको माग गरिरहेको नेकपा एमालेले पनि चुनावको तयारीसमेत अगाडि बढाउने नीति अख्तियार गरेको छ । योसँगै सबैजसो राजनीतिक दल चुनावका लागि तयार भएर त्यसअनुसारका गतिविधिमा सरिक हुन थालेका हुन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले चुनावको तयारी र संसद् पुनर्स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने नीति लिएको छ ।
यही कात्तिक ८ गते नवलपरासीको सुनवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेकाले संसद् पुनर्स्थापनाको एजेन्डा पार्टीले नछोडेको बताए । उनले भनेका छन्, ‘सरकार नै निर्वाचन गराउने वातावरण बनाउन नलागेकाले संसद् पुनर्स्थापनाको एजेन्डा पार्टीले नछोडेको हो ।’
एमालेका अन्य नेताहरू पनि सरकारले भयरहित वातावरणमा चुनाव गराउँदैन कि भन्ने त्रास रहेको बताउँछन् । यही कारण राजनीतिक रूपमा संसद् पुनर्स्थापनाको एजेन्डा नछोड्ने र चुनावको तयारी पनि अगाडि बढाउने नीति लिइएको हो ।
नेपाली कांग्रेसले औपचारिक रूपमा संसद् पुनर्स्थापना कि चुनाव भनेर निर्णय लिएको छैन । यसअघि बसेको केन्द्रीय समितिको बैठकको निरन्तरतामा यही कात्तिक १३ गतेबाट पुनः केन्द्रीय समितिको बैठक बस्दै छ । सो बैठकबाट निर्णय लिने तयारीमा कांग्रेसका नेताहरू छन् ।
कांग्रेसका नेताहरू पनि चुनाव हुनुपर्ने र चुनाव हुँदा कांग्रेस चुनावबाट नभाग्ने बताउँछन् ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का कांग्रेस चुनावबाट नभाग्ने बताउँछन् । यही कात्तिक ४ गते वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरे । उनले भनेका छन्, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ । हामी चुनावका लागि तयार छौं ।’
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दल भने चुनाव केन्द्रित गतिविधिमा लागिसके । रास्वपाले त निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय नै गरेको छ ।
रास्वपा सचिवालय बैठक आइतबार पार्टी कार्यालयमा बसेको थियो । सो बैठकले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको हो ।
रास्वपा नेता गणेश पराजुलीका अनुसार निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलले पनि पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको छ ।
निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यतालिकाअनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम छ ।
कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले यहि कात्तिक ३० गते दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ । एकातिर कार्यतालिकाअनुसार गतिविधि अगाडि बढिरहेको र अर्कोतिर सरकार चुनाव गराउनेतिर अग्रसर भएको भनेर राजनीतिक दलहरू पनि त्यसअनुसार चुनाव केन्द्रित गतिविधिमा केन्द्रित हुन थालेका हुन् । तथापि चुनाव हुँदैन कि भन्ने संशय भने दलहरूमा छ ।