२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

गैरआवासीय नेपालीलाई भिसा : लागू नहुँदै असन्तुष्टि

hardik ivf
निमिष झा
२०८१ माघ ४ गते ०६:३५
गैरआवासीय नेपालीलाई भिसा : लागू नहुँदै असन्तुष्टि

काठमाडौं : गैरआवासीय नेपालीहरूलाई नेपालको नागरिकता वितरण सुरु भएपछि उनीहरूलाई भिसा दिने कि नदिने बहस सुरु भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष ३० असोजमा २ गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर गैरआवासीय नेपालीहरूलाई नेपालको नागरिकता वितरण सुरु गरेका थिए ।

२०७२ सालमा जारी भएको संविधानमा संशोधित प्रावधानअनुसार गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने व्यवस्था गरेको छ । तर, संविधान जारी भएको ९ वर्षसम्म नागरिकता ऐन संशोधन नहुँदा उनीहरूले नागरिकता पाउन सकेका थिएनन् ।

१६ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि असोजमा नियमावली संशोधन भएको थियो ।

संविधानमा यस्तो व्यवस्था भएपछि ५०औं लाखको संख्यामा रहेका गैरआवासीय नेपालीहरूलाई नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुलेको हो ।

तर, संविधानअनुसार त्यस्ता नागरिकता लिएका गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकार भने पाउने छैनन् ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि विदेशी मुलुकको नागरिकता पाएर सार्क मुलुकबाहेक अन्यत्र बसोबास गरेको हुनुपर्ने छ । नेपालको संविधानको धारा ८७ (क)मा भएको व्यवस्थाअनुसार सार्क मुलुकमा बसोबास गर्ने नेपालीले यो सुविधा पाउँदैनन् ।

त्यसरी विदेशको नागरिकता पाएको व्यक्तिको आफ्ना बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक भएको पुष्टि हुने प्रमाण दिनुपर्ने छ । आफूले नेपाली नागरिकता लिएको भए त्यागेको प्रमाण दिनुपर्छ अनि विदेशी मुलुकको नागरिकता भएको र आफू सार्क मुलुकबाहेकको देशमा बसोबास गरेको प्रमाण पनि पेस गर्नुपर्छ ।

भिसाको बहस

गैरआवासीय नेपाली नागरिकता लिएका गैरआवासीय नेपालीहरूले नेपाल आउँदा भिसा लगाउनुपर्ने बहस चलिरहेको छ ।

गृह मन्त्रालयले पछिल्लो पटक अद्यावधिक गरेको विवरणअनुसार १० माघसम्म १ हजार ३७२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

अध्यागमन विभागका अनुसार गैरआवासीय नेपालीहरूले नेपाल आउने क्रममा अन्य विदेशी नागरिकहरू सरह भिसा लगाएर आउनुपर्छ ।

गैरआवासीय नागरिकता नेपालको नागरिकता त्याग गरिसकेपछि पाइने विषय भएको हुँदा उनीहरू नेपाली राहदानीबाहक नहुने भएकाले नेपाल आउँदा अन्य विदेशी नागरिक सरह नै भिसा लगाएर आउनुपर्ने विभागले जनाएको छ ।

गैरआवासीय परिचयपत्र भएका तर गैरआवासीय नागरिकता नलिएका व्यक्तिहरूले मात्र अध्यागमनमा छाप लगाएर नेपाल आउन पाउँछन् । तर, गैरआवासीय नेपाली नागरिकता लिएकाहरूले भिसा शुल्क पनि तिर्नुपर्छ ।

भिसा लगाएर आउने अधिकांश गैरआवासीय नेपालीहरू नाताका आधारमा दिइने प्रवेशाज्ञाका आधारमा नेपाल आउने गरेका छन् । अध्यागमन विभागका अनुसार यस्तो भिसा लिनका लागि प्रतिमहिना १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।

तर, गैरआवासीय नेपाली परिचयपत्रका आधारमा नेपालको प्रवेशाज्ञाका लागि कुनै शुल्क नलाग्ने विभागले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री के. सी. यस्तो समस्या सम्बोधनका लागि गैरआवासीय नेपाली ऐन संशोधनका लागि आफूहरूले पहल गरिरहेको बताउँछन् ।

‘संविधानमै आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता भनिएको छ । हामीले नागरिकता पायौं तर पुरानै कार्यविधि र नियमहरू संशोधन नहुँदा अधिकार पाएनौं’, उनले भने ।

उनका अनुसार नागरिकता भएपछि भिसा लिनुपर्ने होइन, तर नेपाली राहदानी नभएका कारण भिसा लिनुपर्छ भनिएको छ । ‘हामीले ऐनमा गैरआवासीय नेपाली नागरिकताका आधारमा नेपाली राहदानी पनि पाउने व्यवस्था प्रस्ताव गरेका छौं’, के. सी.ले भने ।

गैरआवासीय नेपालीहरूले गैरआवासीय नागरिकताका आधारमा जग्गा पास गर्दा पनि समस्या भएको गुनासो गरिरहेको के. सी.ले बताए ।

नागरिकता अध्यादेशमा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताका सवालमा संविधानले परिकल्पना गरेको अधिकारलाई सम्बोधन नगरेको अध्यक्ष के. सी.को भनाइ छ ।

‘संविधानको धारा १४ को मर्मअनुसार नेपाल आउँदा प्रवेशाज्ञा आवश्यक नपर्नेलगायत आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार आवासीय नेपाली सरह हुनेगरी कानुन संशोधन हुनेमा हामी विश्वस्त थियौं तर त्यसो भएको छैन’, उनले भने ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गैरआवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो असहमति रहेको बताउँछन् ।

अध्यादेशमा गैरआवासीय नेपालीलाई १० वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ । अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्ति वा परिचयपत्रप्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख गरिएको छ ।

गैरआवासीय नागरिकता प्रदान गरेर भिसा उपलब्ध गराउने विषय अनुचित हुने महामन्त्री शर्माको भनाइ छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका मन्त्रीसहितको बैठकमा शर्माले यसबारे प्रश्न उठाएका हुन् ।

‘नागरिकता प्रदान गर्ने संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने हुँदा भिसा किन ?’ भन्दै महामन्त्री शर्माले प्रश्न गरेका थिए ।
‘गैरआवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकारअनुसारको नागरिकता लिने हुन् । नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने ?’, शर्माले बैठकमा भने ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि पुनः भिसा लिनुपर्ने व्यवस्था संविधानको मर्म र एनआरएनएको अपेक्षासँग मेल नखाने सामाजिक संजालमा लेखेका छन् ।

ADVenergy

सम्बन्धित खबर

Advertise