२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

धानखेत घट्दा बढ्न सकेन उत्पादन

ADV
छबि सापकोटा
२०८१ असार १३ गते २०:२८
धानखेत घट्दा बढ्न सकेन उत्पादन

काठमाडौं : नेपालमा मनसुनको भित्रिएसँगै धान रोपाइँमा कृषक व्यस्त हुन थालेका छन् । असार महिनालाई मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइन्छ । धान रोप्नका लागि अहिले धेरै किसानहरुको खेतमा बिउ पनि तयार भएको छ । मौसम विभागले अबको एक साता देशैभरै पानी पर्ने जनाएको छ ।

पानी पर्न शुरु हुन थालेपछि किसानलाई रोपाइँको चटारो शुरु भएको देखिन्छ । असार दोस्रो सातासम्म देशभर धान रोपाइँ योग्य जमिनमध्ये ९.८ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भइसकेको छ । कृषि विभागकाअनुसार असार १२ गतेसम्म एक लाख ३६ हजार ८ सय ११ हेक्टर जग्गामा रोपाइँ भएको छ । यो वर्ष १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा धान रोपाइँ हुने भएको विभागले जनाएको छ । 

विभागका अनुसार नेपालको पश्चिमी क्षेत्रमा धेरै रोपाइँ भएको छ भने पूर्वी क्षेत्रका निकै कम रोपाइँ आएको छ । असार १२ गतेसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत रोपाइँ भएको छ । यस्तै कर्णाली प्रदेशमा २३.९ प्रतिशत, बागमती प्रदेशमा १८.३ प्रतिशत, लुम्बिनी प्रदेशमा ८ं.८ प्रतिशत, गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । तर पूर्वी नेपालको कोशी र मधेश प्रदेशमा कम रोपाइँ भएको छ । कोशी प्रदेशमा ५.६ प्रतिशत र मधेश प्रदेशमा २.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

धानखेत घट्दा उत्पादन बढ्न सकेन

पछिल्लो समय धानको बिउमा नयाँ–नयाँ प्रजातीको रोपाइँ हुँदा समेत धानको उत्पादन बढ्न सकेको छैन । समयमै पानी नपर्ने, मलको अभाव र पहाडको भूभागमा खेती गर्ने र तराईमा खेतीयोग्य जमिनमा बस्ती विस्तार हुँदा धानको उत्पादन बढ्न सकेको छैन । आर्थिक वर्ष २०७६/७७  अर्थात् ५ वर्ष अघिसम्म १४ लाख ५८ हजार हेक्टरमा धान लगाइने गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार हेक्टर अर्थात् २० हजार हेक्टर कम जमिनमा धान रोपाइँ गरिएको थियो । विभागकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा अझै धान लगाउने क्षेत्रफल घट्ने भएको छ । यो वर्ष गत वर्ष भन्दा ४० हेक्टर कम अर्थात् १३ लाख ९८ हजार हेक्टर मात्र धानखेती हुने कृषि विभागले जनाएको छ । 

पाँच वर्षमा धानबालीको क्षेत्रफल र उत्पादन 

आर्थिक वर्ष     धान लगाईको क्षेत्रफल (हेक्टर)    धान उत्पादन (मेट्रिक टन)
२०७६/७७  :  १४ लाख ५८ हजार ९ सय १५    ५५लाख ५० हजार ८ सय ७८
२०७७/७८  :  १४ लाख ७३ हजार४सय ७४    ५६ लाख २१ हजार ७ सय १०
२०७८/७९  :  १४ लाख ७७ हजार ३ सय ७८    ५१ लाख ३० हजार ६ सय ३५
२०७९/८०  :  १४ लाख ६४ हजार३ सय ८९    ५४ लाख ८६ हजार ४ सय ७२
२०८०/८१  :  १४ लाख ३८ हजार ९सय ८९    ५७ लाख २४ हजार २ सय ३४

चितवन रोपाइँ महोत्सवको तयारी 

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराको साथ असार १५ गते २१ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकासका साथै कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाउने  यस पटकको सन्देश दिन खोजिएको कृषि विभागले जनाएको छ । असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सवको तयारी भएको कृषि विभागका महानिर्देशक डा. नरहरि घिमिरेले बताए ।

उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उदेश्यले २०६१ देखि नियमित रुपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आइएको छ । सरकारले धान उत्पादनलाई बढाउनका लागि दुई दशक यता हरेक वर्ष धान दिवस र रोपाइँ महोत्सव मनाउने गरेको भएपनि धान लगाउने जमिन निरन्तर घटिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise