काठमाडौं : दसैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही सुरु गरेपनि नोट सटहीमा सर्वसाधारणको चासो कम छ ।
राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतको दसैंहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भिड लाग्ने गर्दथ्यो ।
नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपैयाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।
थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ । राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले दसैंका लागि भनेर नयाँ नोट छाप्ने गरेको थियो, तर गत वर्षदेखि भने खर्च व्यवस्थापनका लागि भन्दै नयाँ नोटलाई बन्द गरिएको हो । यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दसैं पछाडि मात्रै वितरण गरिने जानकारी दिएको छ ।