२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

प्रकृतिलाई मानसिक यातना दिएको पुष्टि

draupadi film
निमिष झा
२०८१ फागुन ८ गते ०८:२६
 प्रकृतिलाई मानसिक यातना दिएको पुष्टि

काठमाडौंः भारतको उडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई उनकै सहपाठी भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ । राज्य प्रहरीको प्रारम्भिक अनुसन्धानमा सोही विश्वविद्यालयमा अध्ययनरत युवकले प्रकृतिलाई मानसिक यातना दिएको खुलेको हो ।

प्रकृतिलाई ‘ब्ल्याकमेल’ र ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका २१ वर्षीय एडविक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानमा उनले प्रकृतिलाई ‘ब्ल्याकमेल’ र ‘ह्यारेसमेन्ट’ गरेको प्रहरीले निष्कर्षमा पुगेको हो ।

प्रकृतिको मोबाइल फोन, निजी सामान, भिडियो, सीसीटीभी फुटेजका आधारमा श्रीवास्तवले प्रकृतिलाई पटकपटक मानसिक यातना दिएको खुलेको उडिसाको भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेशदेवदत्त सिंहले जानकारी दिएका छन् ।

मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको छ र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ । उनले आरोपित श्रीवास्तवको स्वास्थ्य परीक्षण गरी न्यायिक हिरासतमा पठाइएको पनि बताए ।

प्रकृतिको अस्वाभाविक मृत्यु भएपछि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि तनाव भएको थियो । विश्वविद्यालय प्रशानले ‘सुरक्षाका लागि भन्दै’ नेपाली विद्यार्थीहरूलाई जबरजस्ती निकाला गरेको थियो । 

भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआईआर (फस्र्ट इन्फर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको हो । प्रहरीले मुद्दालाई भारतीय न्याय संहिता (बीएनएस)को धारा १०८ अन्तर्गत दर्ता गरेको छ ।

सार्वजनिक भएको एउटा फोन संवादमा श्रीवास्तवले प्रकृतिलाई अपशब्दसहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै झुण्डिएको अवस्थामा आइतबार साँझ फेला परेकी थिइन् । त्यसलगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका थिए । तर, विश्वविद्यालय प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेको थियो । नेपाली विद्यार्थीहरू होस्टेलबाट जबरजस्ती लखेटिएका थिए ।

विश्वविद्यालयले सोमबार करिब ५०० विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेको थियो । उनीहरूलाई स्कुलको बसमा कोचेर कटक रेल्वे स्टेसनमा पुर्‍याएको थियो । 

मनोविमर्श संस्था स्थापना गरिने

उडिसा सरकारले मृतक लम्सालको नाममा ‘मनोविमर्श संस्था’ स्थापना गर्ने जनाएको छ । दिल्लीस्थित नेपाली राजदूतावास प्रहरी कन्सुलर एसएसपी संजीव शर्मा दाससहितको टोलीसँग भएको छलफलमा उडिसा सरकारका स्वाास्थ्यमन्त्री मुकेश महालिङले प्रकृतिको नाममा संस्था स्थापना गर्ने जनाएका हुन् ।

विश्वविद्यालय प्रशासनले बुधबार शोकसभा गर्दै घटनाबारे दुःख व्यक्त गरेको छ । यस्तै, विद्यार्थीको आक्रोशप्रति पुनः माफी मागेर कक्षामा फर्किन आग्रह गरेको छ । घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ भने भारतीय पक्षले पनि यसका लागि प्रतिबद्ध भएको जनाएको छ । 

परराष्ट्रमन्त्रीको फोन

परराष्ट्रमन्त्री डा.आरजु राणाले उडिसाका उच्च शिक्षामन्त्री (हाइयर एजुकेसन मिनिस्टर) सूर्यवंशी सुरजसँग नेपाली छात्रा लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् । मन्त्री राणाले शिक्षामन्त्री सुरजलाई बुधबार टेलिफोन गरेर प्रकृतिको मृत्यु प्रकरणलाई निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् । 

उनले केआईआईटीमा नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरेकी छन् । जबाफमा मन्त्री सुरजले घटनालाई राज्य सरकारले गम्भीर रूपमा लिँदै प्रकृतिलाई न्याय दिलाउन र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएको राणाले जानकारी दिइन् ।

विश्वविद्यालय नै खाली

घटनापछि निकालिएका नेपाली विद्यार्थीहरू फर्किएका छैनन् ।  अवस्था सामान्य बन्दै गए पनि नेपाली विद्यार्थीहरू नफर्किएका कारण विश्वविद्यालय खाली भएको छ । विश्वविद्यालयको होस्टेलमा करिब ३०÷३५ जना नेपाली विद्यार्थी मात्र रहेका त्यहाँबाट नेपाल फर्केका विद्यार्थीहरूले बताएका छन् ।

भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३०० विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगन्ज आइपुगेको हो ।
पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगन्ज आइपुगेका पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए । 
उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगन्ज हुँदै घर फर्किएका छन् । फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । केही विद्यार्थी मात्र अन्य जिल्लाका छन् ।

उनीहरूले आफूहरूले असुरक्षित महसुुस गरेपछि नेपाल फर्किएको बताएका हुन् । उनीहरूले केटा साथीबाट भएको दुव्यर्वहार सहन नसकेपछि प्रकृतिले आत्महत्या गरेको बताएका छन् । ‘हामीलाई आफ्नो सामान जम्मा गर्नसमेत समय दिएनन् । होस्टेलमा आएका गुन्डाले कुटपिट गर्दै निकाले’, वीरगन्ज आइपुगेका एक विद्यार्थीले भने ।

भुवनेश्वरका विभिन्न रेल स्टेसनमा जबरजस्ती छाडिएकामध्ये करिब ३०० विद्यार्थी कोलकाता पुगेका थिए । त्यहाँबाट उनीहरू फरकफरक बाटो हुँदै आएका हुन् ।

नेपाली विद्यार्थीहरूलाई होस्टेल खाली गर्न दिएको निर्देशनको भोलिपल्ट बुधबार विश्वविद्यालयले विद्यार्थीहरूलाई फर्कन आग्रह गरेको छ ।
नेपाल फर्केका विद्याथीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्मा जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।
 

ADV

सम्बन्धित खबर

Advertise