काठमाडौं : बाढी र पहिरोले ध्वस्त भएको झण्डै ५ महिनापछि बीपी राजमार्ग पुनर्निर्माण हुने भएको छ । सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेसँगै पुनर्निर्माण हुने भएको हो । असोजमा आएको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गसहित ६ वटा सडक र पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
स्वीकृत बजेटमध्ये ठूलो हिस्सा सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गका लागि छुट्याइएको छ । कुल विनियोजित रकममध्ये बीपी राजमार्गको पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गसहित असोजमा आएको बाढी र पहिरोले क्षतिग्रस्त बनेका राजमार्गको पुनर्निर्माणका लागि स्रोत सुनिश्चितता गर्न ताकेता गरेको थियो । ५ महिना लामो ताकेतापछि मंगलबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ ।
सडक विभागले राजमार्गको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ माग गरेको थियो । सडक विभागका अनुसार विनियोजित रकममध्ये काभ्रे खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।
जापान सरकारद्वारा निर्मित बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारले यसअघि जापान सरकारलाई अनुरोध गरेको थियो । तत्कालीन जापानी राजदूत किकुता याकुतासँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजमार्ग पुनर्निर्माण गर्न जापानी सहयोगको अपेक्षा गरेको बताएका थिए ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पनि सोमबार ओमानको राजधानी मस्कटमा जापानी परराष्ट्र राज्यमन्त्रीलाई भेट्दै राजमार्ग पुनर्निर्माण गर्न जापानी सहयोगको अपेक्षा गरेको बताएकी थिइन् । जापान सरकारबाट सकारात्मक प्रतिक्रिया नपाएपछि सरकार आफैंले राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको हो । बीपी राजमार्ग पुनर्निर्माणका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सडकखण्डलाई २ लेनको सडकमा स्तरोन्नति गरिने छ । पुनर्निर्माण गर्न ३ वर्ष लाग्ने सडक विभागले जनाएको छ ।
नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालाढुंगासम्मको सडक खण्ड सबैभन्दा बढी क्षतिग्रस्त छ । सडक विभागले यस खण्डमा सवारी साधनको आवागमनका लागि रोशी नदी हुँदै डाइभर्सन निर्माण गरेको छ । यी डाइभर्सनहरू वर्षायाममा प्रयोग गर्न नसकिने भएकाले सडक विभागले सबै मौसममा सडक संचालनयोग्य बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने योजनासमेत बनाएको छ ।
सडक विभागका अनुसार बीपी राजमार्ग गत असोज दोस्रो हप्ताको बाढीले करिब १३ किलोमिटर खण्ड क्षतिग्रस्त बनेको छ । यसमध्ये काभ्रेको भकुण्डेबेंशीदेखि सिन्धुलीको नेपालथोकसम्म विभिन्न स्थानमा गरी कुल ८ दशमलव ५ किलोमिटर सडकखण्ड पूर्ण रूपमा क्षति भएको छ ।
जापान सरकारको सहयोगमा निर्मित १६० किलोमिटर लामो यो राजमार्गले काठमाडौंलाई मध्य तराई र कोशी प्रदेशसँग जोड्छ । राजमार्ग नदी किनारैकिनार भएर जाने भएकाले पुनर्निर्माण योजनामा सडक सतहमुनि नदी कटानलाई रोक्न ‘स्कोर डेप्थ’ संरक्षणका उपायहरू पनि समावेश छ । सडक विभागले स्रोत निश्चितता भएपछि फास्ट ट्र्याकबाट ल पुनर्निर्माण गर्ने तयारी गरेको छ ।
अब बीपी राजमार्ग पुनर्निर्माणको कामलाई ‘फास्ट ट्र्याक’बाट अघि बढाउन तयारी थालिएको मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार अर्थले स्रोत सुनिश्चितता गरिसकेको र अब यसको पत्र भौतिक पूर्वाधार मन्त्रालयमा आएपछि सडक विभागमार्फत आवश्यक काम अघि बढ्ने छ । बीपी राजमार्ग पुनर्निर्माणको कामलाई ‘फास्ट ट्र्याक’बाट अघि बढाउन राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरणमार्फत काम थाल्नुपर्ने हुन्छ । यसका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिने छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले भने, ‘राजमार्गलाई प्राथमिकतामा राखेर ठेक्का लगाउने तयारीमा विभाग छ ।’ ‘यो पनि अहिलेका लागि पर्याप्त नै हो, अब ठेक्का प्रक्रियादेखि नै फास्ट ट्र्याकमा काम अघि बढाउनका लागि मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव लैजाने तयारी छ’, पोखरलले भने, ‘मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि बीपी राजमार्ग पुनर्निर्माणको काम फास्ट ट्र्याकमा अघि बढ्छ ।’
पोखरेलका अनुसार फास्ट ट्र्याकमा जाँदा ३५ दिनको काम १५ दिनमा हुन्छ । प्रक्रिया नै छोटो हुने भएकाले यसै आर्थिक वर्षदेखि काम सुरु गर्न सकिन्छ भनेर फास्ट ट्र्याकमा जान खोजिएको उनको भनाइ छ ।