२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

विकटका महिला सफल उद्यमी बन्दै

draupadi film
सपना बोहरा
२०८१ फागुन १० गते २०:१६
विकटका महिला सफल उद्यमी बन्दै

बाँके : कसैले सेलरोटी पकाउँदै थिए, कसैले चटपटे बनाउँदै, कसैले ढिकरी पकाउँदै, कसैले विभिन्न परिकारका स्वादिष्ट अचारहरू ल्याएका थिए । कसैले आफैले सिलाइ बुनाइ गरेका आकर्षक कपडाका डिजाइनहरू तथा काठका सामग्रीहरू । हेर्दा नौलो लाग्ने ती सामग्रीहरू गाउँघरका महिलाहरूले खाली समयको सदुपयोग गर्ने एउटा माध्यम मात्र थियो ।

हिजोआज त्यही माध्यम महिलाहरूको छुट्टै पहिचान बनेको छ, जुन पहिचान लिएर आएका थिए महिला उद्यमी संघ नेपाल बाँकेले  आयोजना गरेको महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरूको प्रवद्र्धन तथा  बजारीकरणका लागि ९औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा । 

नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा महिलाहरूले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरू र आफूले जानेका सिकेका सीपहरुलाई उद्यममा परिणत गरेर प्रदर्शन गर्न आएका थिए । त्यही प्रदर्शनीको बीचमा थिइन् दाङकी प्रेमकुमारी पुन । जो अल्लो धागोबाट प्रख्यात छिन् । उनले अल्लो धागोबाट बुनेका कपडाहरू ल्याएर प्रदर्शन गरेकी थिइन् । गाउँघरमै पाइने अल्लो धागोबाट कपडा बुनेर बेचेर उनले आफूलाई सफल उद्यमी समेत स्थापित गरिसकेकी छन् । ‘प्रदर्शनीले उद्यमी महिलाहरूको क्षमता अभिवृद्धि र व्यापार बजारीकरणमा सहयोग पुग्छ’उनले भनिन् । 

त्यस्तै सुर्खेतकी मनिषा खड्का पनि प्रदर्शनीमा सहभागी थिइन् । उनले आफ्नो गाउँठाउँमा पाइने भाङ्गोे, टिमुर, फापर, गेडागुडीका दाल लगायतका सामग्रीहरू लिएर प्रदर्शन गरिरहेकी थिइन् । गाउँघरमा उत्पादन भएका वस्तुहरूलाई प्याकेजिङ गरेर बेच्ने गरेको उनले बताइन् । उनले जुम्ला, हुम्ला, डोल्पा र मुगुको अर्गानिक सिमी, कोदोको पिठो मकैको चामल,मार्सी चामल ल्याएर प्रशोधन गरेर बेच्ने गरेको बताइन् । भान्सादेखि गाउँघरमा सिक्दै आएका सीपलाई व्यवसायमा परिणत गरेर महिला उद्यमीको रूपमा पहिचान बनाएका छन् । भान्सामा सीमित रहने गृहणी महिलाहरू सफल उद्यमीको रूपमा सहभागी भएका थिए । 

फागुन ६ गतेदेखि १० गतेसम्म  सञ्चालनमा रहेको प्रदर्शनीमा प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दाङ, बाँके, बर्दिया, सल्यान, प्यूठान, रोल्पा रुकुम, सुर्खेत जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बिक्री वितरण तथा प्रचार–प्रसार गरेका थिए । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेलले महिला उद्यमशिलता आर्थिकसँग जोड्नको लागि प्रदर्शनीले सहयोग गर्ने बताइन् ।

‘विभिन्न जिल्लाका महिला उद्यमीहरू आएर आफूसँग भएका सामग्रीहरूको बजारीकरण तथा प्रसार पसार गर्छ’ उनले भनिन्,‘जसले गाउँघरमा उत्पादन भएका वस्तुहरूले बजारमा मूल्य पाउनेछन् ।’ नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवद्र्धन गर्नको लागि प्रदर्शनीले सहयोग पुगेको उनले बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise