काठमाडौंः लामो प्रतीक्षापछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण पक्का भएको छ । नाउपाको शुक्रबार र शनिबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले एकताका लागि औपचारिक निर्णय गरेको हो । जनमतले यसअघि नै नाउपासँग एकीकरण गर्ने निर्णय गरिसकेको छ ।
नाउपाको बैठकले महासचिव तथा संघीय सांसद गंगाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल चौधरी सदस्य रहेको कार्यदल पनि बनाएको छ । दुवै दलका कार्यदलको ३ वैशाखमा कैलालीको टीकापुरमा संयुक्त बैठक बस्ने छ । बैठकले एकता प्रक्रियाका विषयमा साझा धारणा बनाएपछि दुवै दलले अनुमोदन गर्ने छन् । त्यसको केही दिनभित्रै एकता घोषणा गरिने छ ।
नेताहरूका अनुसार वैशाखको पहिलो हप्ताभित्र एकता प्रक्रिया टुंगिने सम्भावना छ । शनिबार नाउपाको केन्द्रीय समिति बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले पनि सम्बोधन गरेका थिए । दुवै दलको कार्यदलले एकता प्रस्ताव तयार पार्ने छ । कार्यदलले साझा विचार, दृष्टिकोण, नीति र नेतृत्वबारे सघन छलफल गर्ने कार्यदलका संयोजक चौधरीले बताए । दुवै पार्टी पहिचान पक्षधर भएकाले एकताकोे ढोका खुलेको नाउपाका चौधरीले बताए । संसदीय राजनीतिमा दुवै दल नयाँ भएकाले मिलेर जाँदा जनताका मुद्दा स्थापित गर्न झन् सहज हुने उनले बताए ।
पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच एकताका विषयमा मतभेद देखिएपछि एकीकरण प्रक्रिया अनिश्चित बनेको थियो । अध्यक्ष श्रेष्ठ तत्काल एकता नगर्ने पक्षमा थिइन् भने संरक्षकले एकताका लागि जनमतका अध्यक्ष डा. सीके राउतसँग पटकपटक छलफल गरेका थिए । तर, २ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यहरू एकताको पक्षमा उभिएपछि अध्यक्ष श्रेष्ठले अन्ततः एकता गर्न सहमति जनाएकी हुन् ।
यद्यपि, दुवै दलले एकतापछि एकीकृत पार्टीको अध्यक्ष, पार्टीको नाम र चुनाव चिह्नका विषयमा मोटामोटी टुंग्याइसकेका छन् । एकीकृत पार्टीले नाउपाको ‘ढकिया’लाई चुनाव चिह्न बनाउनेगरी छलफल अगाडि बढाएका छन् । जनमतको चुनाव चिह्न ‘हर्न’ हो । अनौपचारिक सहमतिअनुसार एकीकृत पार्टीको नेतृत्व राउतले नै गर्ने छन् भने प्रमुख संरक्षक चौधरी रहने छन् । श्रेष्ठ सहअध्यक्ष रहने छन् ।
‘बलियो शक्ति’ बन्ने
पृथक्तावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा आएका राउतले ४ चैत २०७५ पार्टी गठन गरेका थिए । यस्तै, १९ पुस २०७८ मा चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । त्यतिबेला उनी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए । डिल्लीबजार कारागारमै छँदा चौधरीले श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी बनाएका थिए ।
जनमत र नाउपाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो पटक भाग लिएका थिए । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नाउपाले कैलालीमा राम्रै स्थान पाएको छ । अहिले संसद्मा जनमतका ६ सांसद छन् भने नाउपाका ४ सांसद छन् । जनमतले प्रतिनिधिसभामा राष्ट्रिय पार्टीसमेत बनेको छ । प्रदेशसभामा नाउपाका १२ सांसद छ । एकीकरण भएपछि पार्टीसँग सांसद संख्या १० हुने छ भने संसद्मा छैटौं दल बन्ने छ । संसद्मा अहिले नेकपा (एकीकृत समाजवादी)सँग पनि १० सांसद छन् ।
भट्टराईको ‘इन्ट्री’
जनमत र नाउपाको एकीकरण प्रयासमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पनि प्रवेश भएको छ । केन्द्रीय समिति बैठकमा भट्टराईको पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराई पनि पुगेकी थिइन् । उनले पनि बैठकलाई सम्बोधन गरेकी थिइन् । बैठकमा बोल्दै उनले आफू अध्यक्ष भट्टराईको सन्देश लिएर आएको बताएकी थिइन् ।
एकता हुन लागेकाले नाउपाको केन्द्रीय समिति बैठकमा राउत उपस्थित हुनु र सम्बोधन गर्नु सामान्य मानिए पनि भट्टराई नेतृत्वको दलको प्रतिनिधिसमेत सहभागी भएपछि जनमत–नाउपा एकतामा भट्टराईको प्रवेश अर्थपूर्ण मानिएको छ । यसै वर्ष महाधिवेशन गरेको भट्टराईको दलले अहिलेका प्रमुख र पुराना भनिएका दलहरूलाई ‘बाइकट’ गर्दै नयाँ भनिएका रास्वपा, जनमत, नाउपा र विवेकशील साझा पार्टीलगायतलाई मात्र निम्तो दिएका थिए ।
महाधिवेशनपछि भट्टराईको दलले गति लिन नसकेको र पार्टी पनि कमजोर बन्दै गइरहेको अवस्थामा उनले जनमत–नाउपाको एकतामा आफ्नो भूमिका पनि खोजेको हुने सक्ने आँकलन गरिएको छ । डा. भट्टराईले आफूसँग गरेको कुराकानीलाई उद्धृत गर्दै शनिबार पार्टी बैठकमा चौधरीले भने, ‘रेशमजी, तपाईं र सीकेजी जोडिँदै जानुस् । म पछिपछि आउँछु ।’