२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

दुर्गा प्रसाईं पक्राउमा प्रहरीको ‘अलमल’

draupadi film
२०८१ चैत ३० गते ०६:२५
दुर्गा प्रसाईं पक्राउमा प्रहरीको ‘अलमल’

काठमाडौं : १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले १२ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार राति भारतको असममा पक्राउ परेका प्रसाईंलाई शुक्रबार दिउँसो काठमाडौं ल्याएर प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

राज्यविरुद्धको अपराध र संगठित अपराधमा प्रहरीले अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न माग गर्दै अदालतमा पेस गरेकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईं तीनकुने प्रदर्शन हिंसात्मक भएसँगै फरार भएका थिए । प्रदर्शनमा २ जनाको मृत्यु तथा करोडौंको निजी र सरकारी सम्पत्तिमा क्षति पुगेपछि राज्यविरुद्धको अपराध र संगठित अपराधलगायतका आरोपमा प्रसाईं प्रहरीको सर्वाधिक खोजीमा परेका थिए ।

प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउने अभियानको कमान्डर तोकेका थिए । १५ चैतमा प्रसाईंकै कमान्डमा भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर सविन महर्जन र प्रदर्शनकारीले भवनमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

तीनकुने घटनामा संलग्न रहेको अभियोगमा यस अगाडि नै  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर जबरा लगायत प्रहरी हिरासतमा छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेकाले १५ दिन हिरासतमा राख्न थप म्याद दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँमा लगेर पक्राउ पुर्जी दिएपछि म्याद थपको प्रक्रिया अगाडि बढाउन उनलाई प्रहरी कार्यालयसँगै रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । त्यहाँ कानुनी प्रक्रिया पूरा भएपछि उनलाई बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

अलमलमा प्रहरी

बिहीबार साँझ असमको बक्सामा प्रसाईंलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको घटनालाई नेपाल प्रहरीले राति अबेर अस्वीकार गरेर विज्ञप्ति जारी गरेको थियो । 

तर, शुक्रबार बिहान असमको बक्साबाट झापाको काँकडभिट्टा ल्याएर नेपाली सुरक्षाकर्मीले औपचारिक रूपमा प्रसाईंलाई बुझेपछि प्रहरी प्रधान कार्यालयले फेरि विज्ञप्ति निकालेर प्रसाईं पक्राउ स्वीकार गर्‍यो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता दिनेश आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रसाईं भद्रपुरमा उनका बडीगार्ड दीपक खड्कासहित पक्राउ परेको उल्लेख छ । 

प्रसाईं असमस्थित नेपालीभाषीको घरमा लुकेर बसेका थिए । उनलाई भारतको असम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले भने शुक्रबार मात्र झापाको भद्रपुरबाट पक्राउ गरिएको जनायो ।

यसअघि पनि भारतमा पक्राउ गरेका व्यक्तिलाई भारतीय सुरक्षा निकायले नेपाललाई नबुझाउँदासम्म नेपाल प्रहरीले पक्राउ परेको स्वीकार्ने गरेको थिएन ।

भारतीय प्रहरीको समन्वयमा प्रसाईंलाई नियन्त्रणमा लिइएको थियो । यो खबर सार्वजनिक भएसँगै प्रहरीले शुक्रबार मध्यरातमा प्रेस विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ नपरेको दाबी गरेको थियो । तर, शुक्रबार झापा ल्याएपछि मात्र प्रहरीले प्रसाईं पक्राउ परेका औपचारिक जानकारी दियो ।

असम पुगेको नेपाल प्रहरीको विशेष ब्युरोको टोलीका अनुसार उनी अभिचन्द्र पाठकको घरमा लुकेर बसेका थिए । पाठक नेपालीभाषी हुन् ।

भारतको आन्तरिक सुरक्षा र प्रतिजासुसी संस्था इन्टेलिजेन्स ब्युरो (आईबी)को सहयोगमा प्रसाईं लुकेको ठाउँ पहिचान गरिएको थियो । त्यसपछि असमको स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई ल्याउन नेपालबाट प्रहरीको विशेष ब्युरोको टोली असम पुगेको थियो ।

भारत र नेपालमा आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई दुवै देशका प्रहरीले अनौपचारिक रूपमा बुझबुझारथ गर्दै आएका छन् । भारतीय प्रहरीले आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेका आफ्ना थुप्रै नागरिकलाई नेपाल प्रहरीको समन्वयमा भारत लगेको पाइन्छ भने नेपालमा अपराध गरेर भारत पुगेकालाई पनि नेपाल प्रहरीले ल्याउने गरेको छ ।

खुल्ला सीमा भएका कारण नेपाल र भारतमा एउटा देशमा अपराधमा संलग्न व्यक्ति अर्को देशमा गएर लुक्छन् । यस्तोमा दुवै देशका प्रहरीबीच सहकार्य गरेर सीमासम्म ल्याउने अभ्यास पहिलेदेखि चलिआएको छ ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले छिमेकी देशमा कसुर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसुरदारलाई गुपचुप बुझाउने गरेका छन् ।

त्यसरी पक्राउ परेका व्यक्तिलाई सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको दाबी दुवै देशका सुरक्षा निकायहरूले गर्दै आएको सुरक्षा मामिलाका जानकारहरू बताउँछन् ।

तीनकुने घटनाको ३ दिनपछि प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गरेका थिए । भिडियो सन्देशको पृष्ठभूमिमा मन्दिरसमेत देखिन्छ । त्यो मन्दिर असमस्थित प्रसाईं लुकेर बसेको घरकै रहेको प्रहरीको ठम्याइ थियो । 

पक्राउ कि आत्मसमर्पण ?

प्रसाईंको पक्राउका विषयमा एकसाथ फरक–फरक भनाइहरू बाहिर आएका छन् । उनी आफैंले भारतीय प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् वा प्रहरीले नै खोजेर उनलाई समातेको हो भन्ने विषय खुलेको छैन ।

प्रसाईंको सचिवालय र उनले पनि भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेका छन् । तर, नेपाल प्रहरीले उनी पक्राउ परेका जनाएको छ ।

२ दिनअघि प्रसाईंले जारी गरेको भिडियो सन्देशमा आफू मानवअधिकारवादी र वकिलहरूको रोहबरमा २४ घन्टाभित्र आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । यसका लागि आफ्नो जीवनरक्षाको ग्यारेन्टी हुनुपर्ने उनको शर्त थियो । सन्देश जारी भएको २४ घन्टाभित्रै उनी प्रक्राउ परेका हुन् ।

तर, नेपाल प्रहरीका अधिकारीहरूले प्रसाईंलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरेर नेपाल ल्याइएको जनाएका छन् । 

प्रसाईं फरार भएपछि उनको परिवारका सदस्यहरूलाई समेत प्रहरीले छानबिनमा तानेको छ । उनका दाइ राकेश प्रसाईंलाई पक्राउ गरेर सोधपुछपछि हाजिर जमानीमा छाडिएको छ । परिवारका अन्य सदस्यहरू पनि प्रहरी निगरानीमा छन् ।

सुरक्षा अधिकारीहरू २ देशबीच अपराधमा संलग्न व्यक्ति आदानप्रदानसम्बन्धी सुपुर्दगी सन्धि नभएका कारण लामो समयदेखि प्रहरीले अर्को देशभित्र पक्राउ परेका व्यक्तिलाई सीमा क्षेत्रमा पक्राउ गरेको भन्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

कस्तो मुद्दा लाग्न सक्छ ?

प्रहरी प्रवक्ता आचार्यका अनुसार राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको छ ।

मुलुकी फौजदारी संहिताको दफा ४९ मा संगठित अपराधमा सजायसम्बन्धी व्यवस्था छ । त्यसमा राज्यको स्वतन्त्रता, एकता, सार्वभौमसत्तालगायतका विषयमा खलल गर्नेगरी हातहतियारसहित संगठन निर्माण गर्ने कसुर गरेको अवस्थामा अधिकतम जन्मकैदसम्म हुन सक्ने व्यवस्था छ । 

यस्तो किसिमको जन्मकैदको सजाय पाएका व्यक्तिले २५ वर्ष कारागार बस्नुपर्छ । उक्त दफामा राज्यविरुद्धको कसुर गर्न उक्साउनेलाई १० वर्षसम्म कैद र सामान्य कसुरमा ५ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।

संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा अनुसन्धान गर्नसमेत प्रहरीले अनुमति लिएको हो । ३ जनाभन्दा बढीको समूह बनाएर ३ वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ । 

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान अघि बढ्ने जनाइएको छ । तीनकुनेमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ ।

यसका साथै प्रसाईंविरुद्ध सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको आरोप पनि छ । यसका लागि उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २८५ को आपराधिक उपद्रवको कसुरमा समेत अनुसन्धान हुन सक्ने बताइएको छ । 

पूर्वराजालाई संसदीय समितिमा बोलाउन माग

सांसदहरूले तीनकुनेमा भएको हिंसात्मक घटनाको छानबिनको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरूले तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका देखिएकाले छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

कांग्रेस सांसद जीवन परियारले घटनामा ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा बहस भएकाले समितिमा बोलाउन सुझाव दिए । कुनै पनि व्यक्तिले अराजकता र अमानवीय काम गरे संविधानको नजरमा बराबर रहेकाले ज्ञानेन्द्र शाहका विषयमा छलफल हुनुपर्ने उनले बताए । 

त्यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि तीनकुने घटनामा पूर्वराजा शाहको संलग्नता देखिएको जबाफदेहीको तहमा ल्याउनुपर्ने बताए । तर, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले तीनकुने घटना राज्यपक्षले नियोजित रूपमा गराएको आरोप लगाए । 

यसैबीच समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समिति सभापति बिमला सुवेदीले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise