कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ ।
पुल निमार्णका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु. २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ ।
डिभिजन सडक कार्यालयका सब इन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरूप त्यति बेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो । पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उनले बताए ।
पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सब इन्जिनियर रानाले बताए । उनले भने, “अहिले पुल निमार्णको काम तीव्र गतिमा भइरहेको छ असारसम्म सक्ने तयारी छ ।” सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने छ । पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए।
दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन् ।
“नदीपारि बसाइ र वारि खेतबारीको काम गर्नुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपर्थ्यो”, उनले भने, “अहिले त पुल आधा बनिसक्यो, हामी खुसी छौँ ।”