रौतहट : रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीमा झण्डै दुई करोड भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकाको कोपवा टोलमा भएको आगलागीबाट उक्त क्षति भएको हो ।
बौधिमाई नगरपालिका ५ कोपवाका धर्मेन्द्र जैसवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा गएराति साढे ८ बजे अचानक विद्युत तार सर्ट भइ आगलागी भएको थियो ।
आगलागीबाट गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल, १ थान मोटरसाइकल, ३ तल्ले घर गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सइ कुमार सेढाइको कमान्डमा गएको टोली, गौर नगरपालिकाको दमकल, बौधीमाइको दमकल तथा स्थानीयहरुको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रणमा आएको थियो । घटनामा मानवीय क्षति भने हुन सकेको छैन ।
त्यसैगरी शुक्रबारराति ९ बजे सदरमुकाम गौर कबिर चोकस्थित स्थानीय कृष्णनन्दन पेटलको बाँस र खरले छाएको कच्ची घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट ४ लाख बराबरको कच्ची घर, बनाउन राखेको ५ थान मोटरसाइकल, पानी तान्ने मोटर १ थानलगायत २१ लाख बराबरको समान जलेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए।
दुवै घटनामा २ करोड भन्दा बढी बराबरको सम्पत्ति जलेर नष्ट भएको हो । तराई मधेशमा गर्मियाम सुरु हुनासाथ आगलागीको घटनामा वृद्धि भएको छ।