२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

जनमतभित्र भ्रष्टाचार छताछुल्ल, राउतले पैसा लिएर सांसद बनाएको खुलासा

draupadi film
निमिष झा
२०८२ वैशाख ९ गते ०६:३०
जनमतभित्र भ्रष्टाचार छताछुल्ल, राउतले पैसा लिएर सांसद बनाएको खुलासा

काठमाडौं : जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । 

यादवको पक्राउपछि जनमतभित्रको राजनीति रोचक मोडमा पुगेको छ । अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेपछि आरोप प्रत्यारोप चलिरहेको थियो । तर, त्यही प्रकरणमा यादव पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय ललितपुरले सोमबार कोषाध्यक्ष यादवलाई सप्तरीको राजविराजबाट पक्राउ गरेपछि पार्टीभित्रको भ्रष्टाचार पनि खुलेको छ ।

यादवलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

यादवलाई प्रहरीले ठगी तथा आपराधिक विश्वाघातको कसूरमा पक्राउ गरेको हो । जनमत पार्टीका अध्यक्ष सीके राउतले ललितपुर प्रहरीमा दिएको ठगी मुद्दामा सोधपुछ गर्न यादवलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार ठगी तथा आपराधिक विश्वासघातको कसुरमा यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ । 

राउतले झन्डै १ महिनाअघि कोषाध्यक्षबाट यादवलाई कारबाही गरेका थिए । बर्दिवासमा बसेको केन्द्रीय कमिटीको बैठकको ठीक अघिल्लो दिन राउतले कारबाही गरेर कोषाध्यक्ष यादवलाई हटाएका थिए । यादवसँगै उपाध्यक्ष तथा अनुशासन विभागका प्रमुख दीपक साहलाई पनि हटाउने निर्णय गरेका थिए ।

यादव पक्राउ परेपछि पार्टीभित्रको भ्रष्टाचार काण्ड पनि बाहिरिएको छ । कुनै बेला निकट सम्बन्ध भएका अध्यक्ष राउत र कोषाध्यक्ष यादवबीच गत संसदीय निर्वाचनदेखि टकराव सुरू भएको हो । यादवले पाउनुपर्ने टिकट सीके राउतले दाजु जयकान्त राउतलाई दिएपछि उनीहरूबीच विवाद चुलिएको हो ।

त्यसपछि पनि पार्टीभित्र अध्यक्ष राउतले मनोमानी गरेपछि पूर्व उपाध्यक्षसमेत रहेका दीपककुमार साह, कोषाध्यक्ष यादवसहितका नेताहरूले विरोध गर्दै आएका थिए । आफूविरुद्ध लागेको भन्दै अध्यक्ष राउतले अनुशासन विभाग प्रमुखसमेत रहेका साहलाई यसअघि नै कारबाही गरिसकेका छन् । अहिले कोषाध्यक्षको पक्राउ पनि त्यसकै सिलसिला रहेको साहको दाबी छ । 

अनुशासन विभाग हेर्दै आएका साहले कोषाध्यक्ष यादवको पक्राउलाई योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको बताएका छन् । उनले पार्टी नेतृत्वलाई पारदर्शिता र जवाफदेहिता देखाउन पनि आग्रह गरेका छन् । 

‘कोषाध्यक्ष यादवको गिरफ्तारी योजनाबद्ध षड्यन्त्रको हिस्सा हो । यस घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनु पर्छ’ साहले सोमबार विज्ञप्ती जारी गरी भनेका छन, ‘पार्टी नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति अनिवार्य छ ।’ 

उनले अध्यक्ष राउतप्रति इंगित गर्दै पार्टीमा ठूलो वित्तीय अनियमितता देखिएको आरोप लगाएका छन् । उनले संसदीय निर्वाचनको टिकट वितरणमा भएको विवाद, घर–जग्गा खरिदमा भएको अनियमितता, सप्तरीको महादेवा गाउँमा पार्टीको नाममा बनाइएको घरलगायतका विषयमा भ्रष्टाचार भएको आशंका गरेका छन् । यी सबै अनियमिततामा अध्यक्ष राउतको प्रत्यक्ष संलग्नता रहेको उनको दाबी छ । 

साहले संसदको समानुपातिक सूचीमा नाम समावेश गराउन अध्यक्ष राउतले यादवसँग ५० लाख माग गरेको पनि दाबी गरेका छन् ।

राउत सांसद बनेपछि ललितपुरको इमाडोलमा घर र जग्गा खरिद गरेको दाबी पनि साहको छ । ‘यी सबै पार्टीको नाममा संकलन गरिएको रकमबाट भएको हो’, उनको दाबी छ ।

पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अध्यक्ष राउतले अवैधरूपमा आर्थिक कारोबार गरेको जनाएका छन् । काठमाडौंमा पार्टी कार्यालयको लागि घर नपाउँदा राउतको हठले पुरानो होटल भाडामा लिई कोटेश्वरस्थित प्रवासी होटल कम्पनी ऐनअन्तर्गत खोलिएको उनको आरोप छ । 

राम नारायण साह, सत्य नारायण खाँग, पञ्चनन्द माझी, अनिता साह, श्रिषिकेष ठाकुर, प्रमोद ईसर लगायतका व्यक्तिहरूको नाममा आर्थिक सहयोग संकलन गरी निजी प्रयोजनमा खर्च गरिएको पनि राउतमाथि आरोप लागेको छ ।

मधेश आश्रम निर्माणका लागि पार्टी अध्यक्ष राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोग नउठेपछि कोषाध्यक्ष स्यवं र वसन्त कुशवाहाले व्यक्तिगत खर्चमा उक्त घर निर्माण गरेको पार्टीका अन्य नेताहरू बताउँछन् ।

अनियमितताको आरोप

राउतले कोषाध्यक्ष यादवमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन् । काठमाडौंमा पार्टीको चन्दामा होटल खरिद गरेको मात्र होइन, कतारबाट पैसा उठाएर व्यापार गरेको पनि आरोप यादवमाथि छ । राउतले कतिपय स्थान र संस्थाको नाम नै किटेर कोषाध्यक्ष यादवले अनियमितता गरेको आरोप लगाएर कारबाही गरेका हुन् ।

राउतले कारबाही गर्नुपर्ने कारण उल्लेख गर्दा कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको, विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौंमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप लागेको थियो । करोडौँ रकम हिनामिना गरेको आरोपमा राउतले कारबाही गरेपछि यादवले पनि अध्यक्ष राउतले आर्थिक हिनामिना गरेको बताउने गरेका थिए ।

आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको यादवको भनाइ छ । आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि कारबाही गरिएको उनले भने ।

तर, राउतले उनलाई कारबाही गरेर हटाएपछि एक्कासी ७ वैशाखमा पक्राउ परे । त्यो पक्राउ प्रकरणपछि राउतमाथि पनि गम्भीर आरोप लागेको छ । 

घर विवाद

ललितपुरको पइमाडोलमा पार्टीले बनाएको घर कोषाध्यक्ष यादवका पत्नी ललिता देवी यादवको नाममा छ । ललिता यादव हाल मधेश सरकारको नीति तथा योजना आयोगमा सदस्य छिन् । काठमाडौंको घर पार्टीको नाममा दिन नमानेर आफ्नो श्रीमतीको नाममा गराएपछि पार्टीले यादवविरुद्ध ठगी तथा अपराधिक विश्वासघात जाहेरी दर्ता गराएका थिए ।

तर, इमाडोलमा रहेको घरमा अध्यक्ष राउत बस्दै आएका छन् । त्यस्तै पार्टीकै लेवीबाट जनकपुरको बल्वाटोलमा पनि घर बनेको छ । उक्त घर पनि कोषाध्यक्ष यादवका पत्नी ललिता देवी यादवको नाममा छ । जसमा पहिले राउत बस्ने गरेका थिए । उक्त घर पनि कोषाध्यक्ष यादवले तीन महिना अघि खालि गराइदिएका छन् ।

केही साताअघि इमाडोलको घर अध्यक्ष राउतले आफ्ना दाई जयकान्त राउतको नाममा नामसारी गरिदिन यादवलाई भनेका थिए । तर पार्टीको घर कुनै व्यक्तिको नाममा नामसारी नगर्ने यादवले अडान लिएका कारण उनीमाथि ठगी अभियोगमा जाहेरी दर्ता गराइएको ती नेताको दाबी छ ।

कोषाध्यक्ष यादव स्वतन्त्र मधेश गठबन्धनदेखि पार्टीमा थिए । कतारमा बस्दा उनी गैरआवासीय मधेशी संघका हर्ताकर्ता थिए । डा. राउत स्वतन्त्र मधेश गठबन्धन विघटन गरी मुलधारको राजनीतिमा आएर जनमत पार्टी खोलेपछि यादव कोषाध्यक्ष बनेका थिए ।

आर्थिक कारोबारको बागडोर सम्हालेपछि उनको अगुवाइमा काठमाडौंको इमाडोल र जनकपुरको बल्वाटोलमा घर बनेको थियो । 

५० लाखको काण्ड

पछिल्लो संसदीय निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सांसद बनेका पाँचै जनाले ३०÷३० लाखका दरले राउतलाई पैसा बुझाएका थिए ।

प्रतिनिधिसभा जनमतबाट राउतसहित अब्दुल खान, अनिता साह, सोनुमुर्मु, विनिता सिंह दनुवार र प्रदेश सांसद वसन्त कुशवाहा छन् । राउत निर्वाचित हुन् भने अरु समानुपातिक हुन् ।

सुरुमा कोषाध्यक्ष यादव नै सांसद बन्ने तयारीमा थिए । तर उनले ५० लाख बुझाउन नसकेपछि सांसद बन्न पाएनन् ।

यादवभन्दा अघि अनिता साहले पैसा बुर्झापछि उनी सांसद बनिन । त्यस्तै जो–जसले पैसा बुझाए, उनीहरू सांसद बने । राउतले उनीहरूसँग नगद नै बुझेका थिए । नगद लिएको कुनै प्रमाण नहुँदा सबैले राउतकै हातमा पैसा बुझाएका थिए ।

एक नेताका अनुसार अब्दुल खानले मन्त्री भएपछि मात्र पैसा बुझाएका थिए । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खान खानेपानीमन्त्री थिए । 

समानुपातिक सांसद गोमा लाभ सापकोटाले दिएको ११ लाख रुपैयाँको बैंक स्लीप नै सार्वजनिक भएको थियो ।

गोमासँग विवाद भएपछि राउतले उनलाई सांसदबाट हटाउन निकै प्रयत्न गरेका थिए । 

पार्टीले गोमालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरिसकेको छ । पार्टी फुटाउनेसम्मको गतिविधि गरेपछि लाभलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपरेको पार्टीको भनाइ छ ।

गोमा र राउतबीच आरोप प्रत्यारोप चलिरहँदा उनी पैसा बुझाएर सांसद बनेको खुलेको छ । लाभले २१ भदौ २०७९ मा कोषाध्यक्ष यादवको नाममा ११ लाख जम्मा गरेको मेघा बैंक जनकपुर शाखाको स्लीप सार्वजनिक भएको छ ।

उनी ३२ लाख बुझाउने सर्तमा सांसद बनेकी थिइन् । ३२ लाखअन्तर्गतको पैसा अहिले पनि उनले पार्टीलाई तिरिरहेकी छन् । 

ADV

सम्बन्धित खबर

Advertise