२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

आजदेखि वर्षे अधिवेशन

२०८२ वैशाख १२ गते ०६:२०
आजदेखि वर्षे अधिवेशन

काठमाडौं : संघीय संसद् सचिवालय वर्षे अधिवेशनको तयारीमा जुटेको छ । बजेट अधिवेशनका रूपमा समेत लिइने यो अधिवेशन आजदेखि सुरु हुँदै छ । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने छ । 

संसद्को हिउँदे अधिवेशन १८ चैत अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन् । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि चिनिन्छ ।

सभामुख देवराज घिमिरेका अनुसार वर्षे अधिवेशनमा बजेटसँगै विधेयक पनि अघि बढाइने छ । संविधानअनुसार बन्न बाँकी ऐन र अन्य महत्त्वपूर्ण विधेयक बजेट अधिवेशनमा समेत अगाडि बढाउन लागिएको हो । 

हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा बुधबार सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेटका विषयमा छलफल भएको थियो । 

यसका साथै अन्य विधेयकसमेत अगाडि बढाउने तयारी छ । विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद् संचालन गर्ने प्रस्ताव सभामुख घिमिरेको छ, जसलाई उक्त छलफलले अनुमोदन गरेको छ । यसअनुसार प्रतिनिधिसभाको क्यालेन्डर बनाउनेबारे छलफल भएको छ । 

बैठकमा सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम पूर्वबजेट छलफल तथा बजेटको चापका साथै विधेयकको समेत चाप रहेको बताएका हुन् । 

‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ’, उनले भनेका छन्, ‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाईसमेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।’ 

सभामुख घिमिरेका अनुसार संसदीय उपसमितिले २३ वैशाखसम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको छ । यस्तो अवस्थामा विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिनेगरी संसद्ले तयारी गरेको छ । 

संसद् सचिवालयका अनुसार जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्नेगरी क्यालेन्डरमा सुरक्षित गरिने छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्न सक्छ । 

यसका साथै वर्षे अधिवेशनमा अन्य विधेयक अगाडि बढाउनसमेत पहल गरिने छ । ‘निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ’, सभामुख घिमिरेले भनेका छन्, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामतीलगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्छ ।’ 

१९ गते नीति तथा कार्यक्रम

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम १९ वैशाखमा प्रस्तुत गर्ने सम्भावित कार्यतालिका छ । 

‘प्री–बजेट’ छलफल २८ वैशाखदेखि हुने छ । नेपालको संसदीय अभ्यास हेर्दा पहिला प्री–बजेट छलफल हुँदै आएको थियो । छलफलबाट आएको सदनको सुझाव समेटेर नीति तथा कार्यक्रम र बजेट आउने गरेको थियो । तर, यो अभ्यास यसपालि मिचिएको छ । साथै, विगतमा ३ महिना अगावै प्री–बजेट छलफल गर्नेगरी कानुन संशोधन गरिएकामा अहिले सरकारले बजेटको १५ दिन अगाडि मात्र गर्नुपर्ने व्यवस्था अध्यादेशमार्फत गरेको छ । 

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री–बजेट छलफल हुने छ । यस पटक लामो समयदेखि प्रतीक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्‍याउन कोसिस हुने छ ।

विचाराधीन ३२ विधेयक

बजेट पारित गर्ने मुख्य कार्यभार रहेको वर्षे अधिवेशन विभिन्न आन्दोलनले दबाबमा छ । शिक्षा ऐन मागेर शिक्षकहरूको आन्दोलन, निजामती ऐन मागेर कर्मचारीहरू आन्दोलित हुँदा विधेयकहरू पारित गर्नुपर्ने अवस्था छ । यो परिस्थितिमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद् संचालन गर्ने प्रस्ताव गरेका छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद्मा हाल ३२ वटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा २७ वटा र राष्ट्रियसभामा ५ विधेयक छन् । प्रतिनिधिसभाका समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा २ विधेयक छन् ।

प्रतिनिधिसभाको कानुन समितिमा १, शिक्षा २, राज्य व्यवस्था ६, पूर्वाधार २, अर्थ ३ र उद्योग समितिमा १ विधेयक छन् । ४ मंसिरको निर्वाचनपछिको साढे २ वर्षमा संसद्का ५ अधिवेशनले कुल २६ वटा कानुन बनाएका छन् । गएको हिउँदे अधिवेशनमा ९ वटा कानुन बनेका थिए ।

सुरुमै प्रधानमन्त्रीको सम्बोधन 

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको सुरुमै सम्बोधन गर्ने छन् । संसद् अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले पछिल्लो समसामयिक विषयबारे धारणा राख्ने छन् ।

यसका आलावा शुक्रबार दलीय आधारमा अन्य नेताहरूले समेत सम्बोधन गर्ने छन् । अधिवेशनको सुरुमा दलका नेताहरूले सम्बोधन गरेर शुभकामना दिने परम्परा छ ।

ADV

सम्बन्धित खबर