काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन् ।
काठमाडौंमा आइतबार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन् ।
महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए । उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडि नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए ।
मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाइ छ । आइतबार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेन्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाइ छ । संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडि लिएर जानुपर्ने उनले बताए ।
राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।