काठमाडौं : भारतको जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा १ नेपालीसहित २८ जनाको हत्या हुनेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ ।
भारत र पाकिस्तानलाई बिझाइरहने कश्मीर दुवैका लागि पुरानो घाउ हो । कश्मीरको पूरा भूमिमा दुवैको दाबी छ ।
भारत प्रशासित कश्मीरमा धेरै आतंकवादी हमला हुन्छन् । भारत त्यसको आरोप पाकिस्तानमाथि लगाउँछ । पाकिस्तान भारतको ‘आन्तरिक आतंकवाद’ भन्छ ।
भारत विभाजन भएर पाकिस्तान बनेपछि दुवै देशले कश्मीरमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आइरहँदा २ देशबीच पटक–पटक द्वन्द्व र लडाइँ हुँदै आएका छन् ।
सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
मंगलबार भएको घटनाले भने २ देशको सम्बन्धमा दरार आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स भारतमा आएकै समयमा कश्मीरमा आतंकवादी हमला भयो ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जबाफ दिन आफूहरू तयार रहेको बताएपछि २ देशबीच द्वन्द्व बढेको हो ।
पहलगाम आक्रमणपछि भारतले यस घटनामा पाकिस्तान जिम्मेवार रहेको ठहर गर्दै प्रतिशोधात्मक कदम चालेको छ । यसका साथै भारतले पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै, पानी बाँडफाँटको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ ।
भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासित गर्नुका साथै पाकिस्तानी राहदानी भएका मानिसहरूलाई पनि भारत छाड्न निर्देशन दिएको छ । तर, पाकिस्तानले भने कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको कार्यालयबाट जारी विज्ञप्तिमा विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यबिना पहलगाम आक्रमणमा पाकिस्तानलाई जोड्ने प्रयास गरिएको उल्लेख छ ।
जारी वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जबाफ दृढ र समुचित ढंगले दिइने छ ।’
पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।
बदलामा पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ ।
द्वन्द्वको सम्भावित असर
पहलगाम आक्रमणपछि परमाणु अस्त्र सम्पन्न भारत र पाकिस्तानबीच तनाव चर्किंदा सबैतिर चासो र चिन्ता बढेको छ । यसले नेपालसहित दक्षिण एसियामा सम्भावित जोखिम बढाउन सक्ने चिन्ता जानकारहरूले गरेका छन् ।
विश्लेषकहरू यस घटनाका विषयमा भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको बताउँछन् ।
उनीहरू भारतको आन्तरिक सरोकार र पाकिस्तानमा भएका पात्रहरूलाई भारतीय दृढताको संकेत देखाउने खालको कडा प्रतिक्रिया हुने सम्भावना रहेको बताउँछन् । सन् २०१६ र विशेषगरी सन् २०१९ पछि भारतले गर्ने प्रतिवाद सीमापारि पाकिस्तानी भूमिमा गरिने आक्रमण वा हवाई हमला हुने सम्भावनातर्फ पनि जानकारहरू संकेत गर्छन् ।
सुरक्षाविज्ञका जानकारहरू भारत–पाकिस्तान संकटमा सबैभन्दा बढी जोखिम परमाणु हतियारको देखिएको बताउँछन् ।
यस घटनाले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ । यस घटनाबाट सार्क सहकार्य अझै कमजोर बन्ने देखिएको विज्ञहरू बताउँछन् ।
‘पहलगाम घटनापछि भारत–पाकिस्तानबीच सम्भावित सैन्य टकरावको जोखिम बढेको छ’, सुरक्षा मामिलाका जानकार रामप्रसाद भट्टराई भन्छन् । उनका अनुसार यदि यस्तो टकराव बढ्यो भने नेपालसहित बंगलादेश र अफगानिस्तान जस्ता छिमेकी देशहरूमा असुरक्षाको स्थिति तथा भावना बढ्न सक्छ ।
आतंकवादी समूहहरूले यस संक्रमणको अवस्थामा फाइदा उठाएर क्षेत्रीय स्थिरतामा प्रभाव पार्न सक्ने चुनौती पनि थपिएको भट्टराईले बताए ।
घटनामा आतंकवादीहरूले निहत्था पर्यटकहरूमाथि धर्मका आधारमा छानीछानी आक्रमण गर्नुले हिन्दु–मुस्लिमबीचको खाडललाई विकराल बनाउने संकेत गरेको छ । भारतमा नरेन्द्र मोदी सरकारले मुस्लिम नीतिलाई थप कडाइ गर्ने संकेत गरिरहेको छ, जसले भारतमा मात्र नभई नेपालमा समेत अशान्ति निम्त्याउन सक्छ ।
नेपालमा प्रभाव
जानकारहरू यस घटनापछि नेपालको सुरक्षा, अर्थतन्त्र र कूटनीतिक क्षेत्रहरूमा गम्भीर प्रभाव पर्ने सम्भावना भएको बताउँछन् । घटनाले भारत–पाकिस्तान तनाव बढाउँदै गर्दा नेपालको खुल्ला सीमामा आतंकवादी गतिविधिको जोखिम र क्षेत्रीय स्थिरतामा थप चुनौती उत्पन्न गर्ने छ ।
तर, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने भारत–पाकिस्तानको तनावले नेपाल सुरक्षित नै रहेको बताए ।
‘सुरक्षा मामिलामा नेपाल सधैं चुस्त रहेको छ । सीमामा नेपाल प्रहरीको उपस्थिति बलियो छ’, उनले भने, ‘२ देशको बढ्दो तनावले नेपालको सुरक्षामाथि खतरा छैन ।’