२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

थलारामा बिना दर्ता संचालित ‘कुसल मेडिकल’ सिल

सत्यराज सिंह
२०८२ वैशाख १७ गते १७:१९
थलारामा बिना दर्ता संचालित ‘कुसल मेडिकल’ सिल

बझाङ : बझाङको थलारा गाउँपालिका–५ खोलीमा बिना दर्ता संचालनमा आएको औषधि पसल ‘कुसल मेडिकल’ सिल गरिएको छ । वैशाख १४ गते चैनपुरबाट गएको जिल्ला स्वास्थ्य कार्यालय बझाङको फार्मेसी सहायकसहितको अनुगमन टोलीले सो पसल निरीक्षण गर्दा कुनै कानुनी अनुमति नलिइ संचालनमा ल्याइएको पाइएपछि तत्काल सिल गरिएको हो ।

‘कुसल मेडिकल’ थलारा गाउँपालिकामा कार्यरत सिअनमी कर्मचारी जुनकुमारी ऐरले निजी स्वामित्वमा संचालन गर्दै आएकी थिइन् । ऐर गाउँपालिकामा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मचारी हुन् । उनी गाउँपालिकामै रहेर स्वास्थ्यको काम गर्छिन् ।

No description available.

अनुगमन टोलीमा संलग्न जिल्ला स्वास्थ्य कार्यालय बझाङका फार्मेसी सहायक द्वारिका जोशीले उक्त पसल दर्ता नगरिएको, औषधि बिक्रीवितरण गर्ने अनुमति लिएको प्रमाण नभएको र औषधि वितरणका लागि योग्य फार्मासिस्ट पनि नियुक्त नगरेको पाइएकाले कानुनी प्रक्रिया अनुसार पसल तत्काल सिल गरिएको जानकारी दिइन् ।

उनका अनुसार पसल संचालकलाई १५ दिनको समय दिइएको छ । सो अवधिमा औपचारिक दर्ता, फार्मासिस्ट नियुक्ति र अन्य आवश्यक कानुनी प्रक्रिया पूरा नगरे कारबाही अगाडि बढाइने छ ।

एक स्थानीय स्वास्थ्यकर्मीले नाम नखुलाउने सर्तमा भने, ‘सरकारी तलब खाएर स्वास्थ्यकर्मीले निजी औषधि पसल संचालन गर्नु सेवाको आचारसंहिताविपरीत हो । यसले स्वास्थ्य सेवा प्रणालीप्रति जनताको विश्वास कमजोर बनाउँछ । यसमा स्थानीय सरकारले अनुगमनलाई तीव्रता दिनुपर्छ ।’ 

पालिकाले घटनाबारे जानकारी लिइरहेको र यदि बिना अनुमति व्यवसाय संचालन गरेको पाइएमा पालिकाले छानबिन गरी आवश्यक कारबाही गर्ने थलारा गाउँपालिकाका उपाध्यक्ष राम खातीले बताए । उनले भने, ‘सबै कर्मचारीहरूलाई आचारसंहिता पालना गर्न निर्देशन दिइएको छ । त्यो धेरै पहिलेदेखि संचालन गरेको हुँदा हामीले दर्ता गरेकै होला भन्ने लागेको थियो । तर रहेन छ ।’

No description available.

अनुगमन टोलीमा रहेका थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले पालिकामै काम गर्ने कर्मचारीले यस्तो गर्न नहुने र उनलाई दर्ता गर्नका लागि समय दिइएको बताए । उनले भने, ‘हामीले अनुगमनलाई जोड दिनुपर्छ भन्ने यो घटनाले बुझाएको छ । हामी अनुगमनलाई तीव्र पारेर बिना दर्ताका मेडिकल मात्र नभएर अवैध औषधि बिक्री वितरण गर्ने र बजार तथा विभिन्न वडामा रहेका पसलहरूको अनुगमन गर्छौं ।’

स्थानीयहरुले भने यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ अनुगमन गर्न आग्रह गरेका छन् । उनीहरूले सरकारी कर्मचारीबाटै नियम उल्लंघन हुँदा सामान्य जनताले पाउनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

वैशाख ८ गते केदारस्युँ गाउँपालिकामा गरिएको अनुगमनमा केदारस्युँ गाउँपालिकाको झोतामा संचालनमा रहेको शुलभ क्लिनिकमा म्याद नाघेका औषधि भेटिएपछि सिल गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर