२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

भारत–पाकिस्तान तनाव : नेपाल विभाजित, सार्क अध्यक्ष राष्ट्रको हैसियतमा चुक्यो नेपाल

निमिष झा
२०८२ वैशाख २६ गते ०६:१५
भारत–पाकिस्तान तनाव : नेपाल विभाजित, सार्क अध्यक्ष राष्ट्रको हैसियतमा चुक्यो नेपाल

काठमाडौं : भारत–पाकिस्तान द्वन्द्व चर्किइरहँदा नेपाल विभाजित भएको छ । भारतले आतंकवादविरुद्ध पाकिस्तानमा मिसाइल आक्रमण गरेको भोलिपल्ट नेपाल सरकारले सबै प्रकारका आतंकवादविरुद्ध उभिएको जनाएको छ भने दल र नेताहरू भने विभाजित छन् ।

राजनीतिक दलका नेताहरूले आतंकवादविरुद्ध नेपालले भारतलाई साथ दिनुपर्ने बताएका छन् । तर, केही नेताले भारतीय आक्रमणको विरोध पनि गरेका छन् ।
भारतको कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछि बढेको २ देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको परराष्ट्र मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको विज्ञप्ति भारतप्रति सहानूभुति दर्शाउने खालको छ । भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणबारे सरकारले केही पनि उल्लेख गरेको छैन ।

पहलगाम घटनामा १ नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । पहलगाम आक्रमणको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले उक्त दुःखद् घटनामा नेपाल र भारत एक ठाउँमा उभिएका जनाएको छ  । मन्त्रालयले उक्त आततायी आतंकवादी आक्रमणको तत्कालै आलोचना गरेको पनि उल्लेख गरेको छ ।

साथै, नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । ‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिने छैन’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, नेपालले २ देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।

मन्त्रालयले आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ । ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरूप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ । ‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौं । भारत–पाकिस्तानबीचको तनाव कम हुने आशा छ’, विज्ञप्तिमा भनिएको छ ।

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ । ‘अपरेसन सिन्दूर’ नाम दिइएको आक्रमणमामा ३१ जनाको मृत्यु भएको छ । भारतीय आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद असदसहित उनका परिवार पनि मारिएका छन् ।

दलहरू विभाजित

भारत–पाकिस्तानको जारी युद्धका विषयमा नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरे पनि कुनै पनि दलहरूले औपचारिक टिप्पणी गरेका छैनन् । तर, दलका नेताहरूले व्यक्तिगत रूपमा भने आफ्ना धारणा बाहिर ल्याएका छन् ।

२ दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीचको जारी तनावबारे प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) चरम विभाजित भएको छ । पार्टीका २ प्रभावशाली नेताहरू महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्माले यस सन्दर्भमा फरक–फरक अभिव्यक्ति दिएका छन् ।

महासचिव गुरुङले पहलगाम आक्रमणको विषयलाई लिएर भारतले पाकिस्तानमाथि गरेको जबाफी कारबाहीको समर्थन गर्न नसकिने बताएका छन् भने उपमहासचिव शर्मा भारतीय कित्तामा उभिएका छन् ।

‘भारतले पाकिस्तानका विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दुखद् विषय हो । भारतले आक्रमणको कारण केही दिनअघि कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ । जनसंहारकारी र आतंककारी गतिविधिको विरोध गर्नै पर्छ । तर, पहलगामको उक्त आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन’, गुरुङले भने ।

तर, शर्माको भनाइ आफ्नै पार्टीका नेता गुरुङको भन्दा फरक छ । ‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दूर संचालन गरेको छ । आतंवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो’, शर्माले भने ।

पदाधिकारी तहका २ नेताले विपरीत धारणा दिँदा माओवादीको आधिकारिक धारणा के हो भन्नेमा अन्योल भएको छ ।

नेपाली कांग्रसेका नेता रामहरि खतिवडा भारतले अहिले आतंकवादविरुद्ध लडाइँ लडिरहेको भन्दै आतंकवादविरुद्धको लडाइँमा नेपालले भारतलाई साथ दिनुपर्ने बताउँछन् । उनले भने, ‘आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भारतीय सेनाले आतंककारीका विरुद्धमा गरेको सफल अपरेसन सिन्दूरका लागि बधाई दिएका छन् । उनले भने, ‘आतंकवादविरुद्धको संघर्षमा हामी भारतको साथमा छौं ।’

यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले जुनसुकै प्रकृतिको आतंकवादविरुद्धका संघर्षमा ऐक्यबद्धता जनाएका छन् । उनले भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन र आपसी समस्यालाई सैन्य बलबाट नभई कूटनीतिक प्रयास तथा शान्तिपूर्ण माध्यमद्वारा समाधान खोज्न आग्रह गरे ।

यता, भारत र पाकिस्तानबीच चुलिँदै गएको तनावप्रति नेपाली नागरिक समाजले चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

‘भारतको सीमापार कारबाहीले पाकिस्तानको जबाफी कारबाही निम्त्याउने खतरा बढेको छ’, नागरिक समाजद्वारा बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्था नियन्त्रणबाहिर जान सक्ने खतरा भएकाले दुवै देशले वार्तामार्फत समाधान खोज्नुपर्छ ।’

विज्ञप्तिमा धार्मिक उक्साहटप्रति गम्भीर आपत्ति जनाउँदै ‘धर्मको हतियारीकरणले सम्पूर्ण क्षेत्रमै साम्प्रदायिक तनाव चुल्याउँछ र धार्मिक अल्पसंख्यकहरू थप संवेदनशील हुन्छन्’ भनिएको छ ।

भारत–पाकिस्तानबिच जारी तनावप्रति मधेश केन्द्रित दलहरूले आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका छन् । मधेश केन्द्रित दलहरूको ७ दलीय संघीय लोकतान्त्रिक मोर्चाको बैठकले आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका हुन् ।

महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा पनि भारतीय आक्रमणलाई समर्थन गरिएको छ । 

सांसद मीना तामाङको भनाइ भने फरक छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेकाले २ देशबीच हुने लडाइँमा नेपाली गोर्खा सैनिकलाई पहिलो प्रयोग नगर्न उनको आग्रह छ । उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइन् । तामाङले भनिन्, ‘भारत र पाकिस्तानबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्नुपर्छ ।’

भारतको दबाबमा सीमामा ‘हाई अलर्ट’ 

भारत र पाकिस्तानबीच तनाव चर्किएपछि  नेपालले आफ्नो सीमा सुरक्षामा कडाइ गरेको छ । देशभरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो तैनाथी र निगरानी बढाएको हो ।

नेपालको सीमा सुरक्षा कमजोर रहेको भन्दै भारतले दबाब दिएपछि नेपालले सीमा क्षेत्रमा थप कडाइ गरेको हो । सरकारको निर्देशनअनुसार सशस्त्र प्रहरी बलले ताप्लेजुङदेखि दार्चुलाको छाङ्ग्रु नाकासम्म रहेका २४५ वटै बोर्डर आउट पोस्ट (बीओपी)लाई ‘हाई अलर्ट’मा राखेको छ ।

ती बीओपीले नियमित रुपमा गर्दै आएको गस्तीको समय, अन्तर सुरक्षा निकाय समन्वय र निगरानीको क्रम बढाइएको छ ।

बंगलादेशबाट नेपालको बाटो हुँदै आक्रमणकारी कश्मीर पुगेका सूचना आएको भन्दै भारतले नेपालमाथि दबाब बढाएको जनाइएको छ ।

भारतको सरोकारलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । त्यसअघि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।

दुवै बैठकमा भारतबाट प्राप्त गम्भीर प्रतिक्रिया अर्थपूर्ण रहेको निष्कर्षका साथ कुनै छिमेकी मुलुकका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको थियो ।

बैठकपछि चारै सुरक्षा निकायहरूलाई यस विषयमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको थियो ।

यसबीच सशस्त्रले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोल गरिरहेको छ ।

सशस्त्रले बिहीबारसम्म ६४० ठाउँमा गरी १ हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखेको छ ।

मदरसा र मस्जिद निगरानीमा

सीमा क्षेत्रमार्फत हुन सक्ने अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले समेत निगरानी बढाएका छन् । प्रहरी अधिकारीका अनुसार भारत–पाकिस्तानबीच तनाव बढेसँगै तराईका जिल्लाहरूमा संचालित मदरसा, मस्जिदलगायतका क्षेत्रहरूमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार खुल्ला सिमाना तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी बढाइएको छ ।

चुक्यो नेपाल

नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । जानकारहरू सार्कको वर्तमान अध्यक्ष मुलुकको नाताले नेपालले बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकासँग तत्काल परामर्श गरेर भारत र पाकिस्तानमाथि नैतिक दबाब सिर्जना गर्नुपर्ने बताउँछन् । तर, नेपाल त्यसमा चुकेको उनीहरूको धारणा छ ।

सार्कको १८औं शिखर सम्मेलन २६–२७ नोभेम्बर २०१४ मा काठमाडौंमा भएको थियो । त्यसपछि नेपाल सार्कको अध्यक्ष रहँदै आएको छ । सार्क शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । तर, भारत र पाकिस्तानबीच सम्बन्ध समधुर नहुँदा सम्मेलन हुन सकेको छैन । 

अहिले भारत र पाकिस्तान युद्धमा उत्रेका छन् । यस्तो बेला नेपालले सार्क राष्ट्रको हैसियतले भूमिका देखाउनुपर्ने सुझाव परराष्ट्रविद्हरूको छ ।

परराष्ट्रविद् दिनेश भट्टराई भन्छन्, ‘हामी सार्कको अध्यक्ष राष्ट्र पनि हौं । सार्क अध्यक्षको नाताले केही बोल्दा राम्रो हुन्छ । सम्भवतः भारत रिसाउँछ भनेर हामीले सार्कको कुरा पनि उठाउन सकिरहेका छैनौं । कसैको पक्ष नलिई हामीले आतंकवादको निन्दा गर्छौं र गैरराज्य पक्षको प्रयोग गरेर एकअर्कालाई अवमूल्यन गर्ने काम मान्य हुन सक्दैन भनेर भन्न सक्नुपर्छ ।’

कतिपय भने भारत–पाकिस्तान युद्ध अन्त्य गर्नका लागि नेपालले मध्यस्थताको प्रस्ताव गर्नुपर्ने सुझाउँछन् । 

कोश्यारीको अर्थपूर्ण भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनौपचारिक दूतका रूपमा भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएका छन् ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले अघिल्लो हप्ता नेपाल भ्रमण गरेर विभिन्न दलका १ दर्जनभन्दा बढी नेताहरूलाई भेटेका थिए । चौथाइवालेपछि कोश्यारीलाई नेपालको राजनीतिक परिस्थितिबारे बुझ्न पठाइएको हो ।

बिहीबार नेपाल उत्रेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेलगत्तै प्रमुख प्रतिपक्षी दल  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे ।

कोश्यारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । 

नेपालप्रतिको नीतिलाई लिएर भारत दुविधाग्रत रहेको अवस्थामा भारतीय पक्षको उच्च तहबाट भएको तारन्तरको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री हुन् भने नेपाल–भारतबीच गठन भएको प्रबुद्ध समूहका भारतका तर्फबाट संयोजक पनि थिए । उनी सत्तारूढ भारतीय जनता पार्टीका प्रभावशालीमध्येका १ नेता हुन् ।

ADV

सम्बन्धित खबर