२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

पत्रकार केसीलाई रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न माग

shivam cement
मध्यान्ह
२०८२ जेठ ५ गते २१:३८
पत्रकार केसीलाई रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न माग

काठमाडौं : पत्रकार सुजित केसीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको घटनाप्रति  नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ । 

विधुतीय कारोबार ऐन विपरित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा पत्रकार केसीलाई प्रहरीले पक्राउ गरेको महासंघ एसोसिएट प्रदेश समितिले जनाएको महासंघले जनाएको छ ।  केसी एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य हुन् । 

महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार, विचार र समाचारमूलक सन्देशहरू प्रवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी गरिनु पत्रकारको नैसर्गिंक हक हो । त्यसले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास छ । यससम्बन्धी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा रहेको पनि जानकारी गराइन्छ ।’

त्यसलाई बेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनुलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको जनाइएको छ । 

महासंघले प्रहरीको यो हस्तक्षेपप्रति गम्भीर चिन्ता प्रकट गर्दै खेद व्यक्त गरेको छ । यो घटनाको छानबिन गरी पत्रकार केसीलाई यथाशीघ्र रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरिएको छ । 

यसैबीच नेपाल पत्रकार मञ्च तथा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा लिँदै तत्काल रिहाइको माग गरेको छ । 

नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पदधारीप्रति उठाइएका प्रश्नलाई अपराध ठहर गर्दै पत्रकारमाथि कारबाही गर्नु लोकतान्त्रिक व्यवस्थामाथिको खुला आक्रमण हो ।’

मञ्चले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई मिच्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ । 

घटनापछि एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्य, केन्द्रीय सदस्य मनुका कुँवरलगायतको टोलीले हिरासतमा रहेका पत्रकार केसीसँग भेटघाट गरी स्वास्थ्य र अवस्थाबारे जानकारी लिएको छ । 

स्रोतका अनुसार, केसीले लेखेको स्टाटस केही समयपछि हटाइसकेका थिए । तर, स्टाटस हटाइएको भएपनि पक्राउ गर्नु, र जाहेरीदाताको नाम गोप्य राख्नु नितान्त दुर्भावनापूर्ण र गैरपारदर्शी कदम भएको मञ्चको ठहर छ ।

यता, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका महासचिव अशेष अधिकारीले पनि घटनाप्रति आपत्ति जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘विचार अभिव्यक्तिका लागि प्रयोग गरिएको माध्यमलाई आधार बनाउँदै पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताको निर्मम हत्या हो । यस्तो घटना पुनः दोहोरिन नदिन राज्य संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’

मञ्चले पत्रकार केसीको अविलम्ब रिहाइको माग गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएको छ । साथै, प्रेस स्वतन्त्रता कुण्ठित हुने गतिविधिहरू तत्काल बन्द गर्न सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीको ध्यानाकर्षण गराइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise