२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

निष्पक्ष निर्वाचन र संविधानको रक्षा हाम्रो मुख्य जिम्मेवारी

shivam cement
मध्यान्ह
२०८२ भदौ ३० गते २०:१४
निष्पक्ष निर्वाचन र संविधानको रक्षा हाम्रो मुख्य जिम्मेवारी

जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौँ । हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने । तर, त्यसो हुन सकेन ।

जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको  ठहर २७ भदौमा बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्यसमितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो । यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्लालगायत सबै तहका साथीहरूमाझ अब नेपाली कांग्रेसले लिनुपर्ने बाटोका सम्बन्धमा मेरो प्रस्ताव राखेको छु ।  

१.  अन्तरिम सरकार गठनसँगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो । त्यसैले ढिलोचाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।

२. आन्दोलनपश्चात् आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौँ  । अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौँ । कहीँकतै यो मूल जिम्मेवारीबाट सरकार विचलित भयो वा अलमलियो भने खबरदारी गरौँ । भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं ।    

३. प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभा, प्रदेश सभार, स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खबरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।

४. ⁠ नेपाली कांग्रेसले २३ भदौमा राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानुनअनुसार दण्डित गराउने प्रतिबद्धता जनाइसकेको छ । त्यसैगरी, २४ भदौ र त्यसपश्चात्‌को विध्वंश र आगजनीको वास्तविक क्षति आकलन गरी दोषीलाई दण्डित गर्न निरन्तर दबाब जारी राख्नुपर्छ ।

५. संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात् गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथाशक्य सघाउन आग्रह गर्दछु ।

६. पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो । संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ । जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ ।

हामीले अहिले जे–जसरी गरिरहेका छौँ, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ  हुँदैन । पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ । नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ । यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल सुरु गरौँ । स्वीकार गरौँ- गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गरौँ ।

अन्त्यमा,

पार्टी सभापति शेरबहादुर देउवालगायत देशैभरि कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढंगले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हामी घोर निन्दा गर्दछौँ । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौँ घाइते साथीहरू छन् । उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अर्कोतिर हामीले नबिर्सौं, कलिलो पुस्ताका भाइबहिनीहरू क्रूरतापूर्वक मारिएका छन् । जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ; आन्दोलनमा घुसपैठ गर्ने पात्र र प्रवृत्तिले पनि कठोर दण्ड पाउने निश्चित छ । तर, गुमेको जीवन फर्किंदैन । देशको दुर्दशाबाट दु:खी हुँदै स्वतःस्फूर्त आन्दोलनमा उत्रिएका ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए । संकल्प गरौँ, ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैनौँ  । जय नेपाल ! 

(नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा )

ADV

सम्बन्धित खबर

Advertise