काठमाडौं : गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रतिपक्षी दलका नेताहरूले गृहमन्त्री लेखकको राजीनामा दिन माग गर्दै आएकाबेला आफ्नै पार्टीका नेतालेसमेत उनलाई राजीनामा दिन आग्रह गरेका छन् ।
सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसासम्बन्धी घटनाका सन्दर्भमा उठेको प्रश्नलाई लिएर मन्त्री लेखकको चौतर्फी आलोचना भइरहेको छ । भिजिट भिसामा विभिन्न मुलुक पठाउन दैनिक ५० लाख रुपैयाँसम्म उठाएको घटनाले राजनीतिक बजार निकै तातेको छ ।
यसै सन्दर्भलाई लिएर कांग्रेस नेता डा. कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने उनले सुझाव दिएका हुन् ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए । लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनीतिक दलहरू र सरकारले जनताका पक्षमा काम गर्न उनले सुुझाव दिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पनि गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको भनिएको मानव तस्करी प्रकरणमा जोडिएको भन्दै किरातीले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् । उता राष्टिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारण सार्वजनिक गरेको छ ।
तर, गृहमन्त्री लेखकले भने आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने प्रतिक्रिया दिएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरूले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको उनको भनाइ छ ।
‘यदि मेरो सार्वजनिक वा राजनीतिक जीवनमा मैले आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने म पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिन तयार छु,’ मन्त्री लेखकले भने । उनले १३ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा विस्तृत धारणा राख्न समय माग गरेको पनि बताएका छन् ।