काठमाडौं : पार्टीलाई कस्तो बनाउने भनेर विधि बनाउन भेला भएका नेकपा एमालेका विधान महाधिवेशन प्रतिनिधि नेतृत्वको टसलमा बचाउ र विरोधका प्रस्तुत हुन बाध्य भएका छन् ।
एक व्यक्ति एक पद, नेतृत्वमा उमेरहद र दुईपटक भन्दा बढी अध्यक्ष हुन नपाउनेजस्ता विषयमाथिको छलफल नै ओझेलमा पर्नेगरी उनीहरू नेतृत्वको टसलमा बचाउ र विरोधका प्रस्तुत भइरहेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली फेरि पनि नेतृत्वमा दोहोरिन चाहन्छन् । यसका लागि एमालेको प्रचलित विधान बाधक छ । एमालेका ७० वर्षे उमेरहद छ । अध्यक्षमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था छ । यी दुवै व्यवस्था हटाउनेगरी ओलीले यसअघि नै पार्टीको केन्द्रीय समितिबाट निर्णय गराइसकेका छन् । त्यहीअनुसार विधान अधिवेशनबाट विधान बनाउँदै छन् ।
अध्यक्ष ओलीको नेतृत्वमा रहेको निरन्तरताको आकांक्षा पूरा गर्ने प्रयासअन्तर्गत सुरु भएको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले हलचल नै ल्याइदिएको छ ।
भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी मात्र छैनन् । शुक्रबार विधान महाधिवेशन प्रतिनिधिलाई पत्र नै लेखेर वैचारिक दख्खल र संगठन सुदृढीकरणका लागि काम गर्न आह्वान गरेकी छन् । यस्तो अवस्थामा पार्टीलाई कस्तो बनाउने भनेर विधि बनाउन भेला भएका एमालेका विधान महाधिवेशन प्रतिनिधि ओली र विद्याको टसलमा बचाउ र विरोधका प्रस्तुत हुन बाध्य भएका हुन् ।
शुक्रबार अध्यक्ष ओलीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राजनीतिक प्रतिवेदनमा समाज कसरी विकास हुँदै आयो, अहिलेको वर्तमान समाजको चरित्र कस्तो छ, एमालेको आगामी नीति के हुने भनेर व्याख्या गरिएको छ । साथै नेपालमा हाल रहेका राजनीतिक दलहरूप्रति हेर्ने दृष्टिकोणलाई समेत अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेका छन् ।
‘राजनीतिक प्रतिवेदनमा कम्युनिस्ट आन्दोलन र नेपालमा हाल रहेका राजनीतिक दलहरूको चरित्र केलाइएको छ । नयाँ र क्षेत्रीय दलले राष्ट्रिय दृष्टिकोण बनाउन नसकेकोलगायतका विषय समावेश छन्,’ उनले भनेका छन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितका अनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा छलफल नहुन सक्छ । उनले पत्रकारहरूसँग भनेका छन्, ‘म सिधा भन्छु– आइजिपी भएको मान्छे इन्सपेक्टरमा भर्ना हुन आउँदैन, आउन खोज्छन् भने जनताले कसरी बुझ्छन् त्यसरी नै नेकपा एमालेले जवाफ दिन्छ ।’
नेकपा एमालेकी नेता पद्मा अर्याल भने भण्डारीका सम्बन्धमा शीर्ष तहमा छलफल हुने जवाफ फर्काउँछिन् ।
पार्टीमा विभिन्न कोणबाट छलफल हुनु स्वाभाविक रहेको बताउँछिन् ।
‘विद्या भण्डारीले जुन खालको राजनीति गर्ने इच्छा प्रकट गर्नुभएको छ । पार्टीको केन्दीय कमिटीले एउटा फैसला गरेको छ,’ उनी भन्छिन्, ‘यस्ता समस्या हामीले विगतमा पनि छलफल र संवादबाटै टुंग्याएका छौं । अब टुंग्याउने विधि पनि छलफल र संवादबाटै हो ।’