२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो कृषि प्रयोगशाला

shivam cement
२०८२ जेठ १४ गते ०८:३०
Shares
त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो कृषि प्रयोगशाला

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरेका छन् ।   

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै  मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परीक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्ता सेवा केन्द्रहरूको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्त्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो । 

किसानलाई आफ्नै गाउँ ठाउँमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै छ ,कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षा छन्, केहीको सम्बोधन बजेट मार्फत हुनेछ ।” 

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुनेछ, भने । समयमै मल किसानको बारीमा पुर्‍याउनका लागि आफूले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दे प्रांगारिक मलको प्रवर्द्धनका लागि मन्त्रालयले कार्य गरिरहेको बताए । धादिङको सल्यान टार आसपासमा कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्रमार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । माटो लगायतको परीक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानले आफ्नै पालिकामा एकै छानामुनी विशिष्ठिकृत सेवा प्राप्त गर्न सक्ने बताए । कार्यक्रममा जिल्लाका  विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा गरे । 

कुल रु. दुई करोड त्रिचालीस लाखको लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशालासहितको सुविधा रहेको छ । रिडले मध्य पहाडी लोक मार्गलाई आधार मानी विभिन्न पालिकाहरूमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरूको निर्माण गरी हस्तान्तरण गर्ने कार्य गरेको छ  ।
 

ताजा खबर

सम्बन्धित खबर