काठमाडौं : जेनजी अर्थात् १४–२८ वर्ष उमेर समूहका युवाहरूको पछिल्लो आन्दोलनलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थुप्रै नेता कार्यकर्ता दौडधुपमा लागे पनि सो आन्दोलन रास्वपाका लागि नै प्रतिउत्पादक बनेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाको आवेगले २७ घण्टामै सत्ता उलटफेर हुँदा त्यसको सबैभन्दा ठुलो लाभ रास्वपाले लिने विश्लेषण थियो । तर सो दलका लागि जेनजी आन्दोलनले नकारात्मक छाप छाडेको हो ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले सत्ता परिवर्तनसँगै ठुला राजनीतिक दलहरूको भविष्यमाथि खतराको घण्टी बजाएको थियो । आन्दोलनको पहिलो दिन शान्तिपूर्ण प्रदर्शन भड्किएर बानेश्वर क्षेत्र रणभूमिमा परिणत हुँदा प्रहरीको गोली लागेर १७ जनाको ज्यान गयो । गोली लागेर घाइतेहरूको समेत उपचारका क्रममा मृत्यु हुनेक्रम रोकिएको छैन । हालसम्म ७२ जनाको ज्यान गइसकेको छ । अराजक गतिविधिलाई प्रश्रय दिएका रास्वपा, माओवादी र राप्रपामध्ये रास्वपाको धेरै आलोचना भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आन्दोलनको नेतृत्व गर्न नउत्रिएपछि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलबाटै निकालेर मैदानमा उतारिएको थियो । त्यही गलत कदम नै रास्वपाका लागि प्रत्युत्पादक बनिदियो ।
आन्दोलनरत युवाहरूले सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई नख्खु कारागार घेरेर बाहिर निकालेका थिए । आन्दोलनको बलमा जेलमुक्त हुन पाएको खुसी साट्दै जेलबाहिर निस्केर उपस्थित भिडसामु नतमस्तक थिए, रवि । रविलाई निकालेर आन्दोलनको बलमा प्रधानमन्त्री बनाउने योजनासहित कारागार घेराउमा रास्वपाका कार्यकर्ता नै परिचाति थिए । तर जेनजी अगुवाहरूले सामाजिक सञ्जालबाटै चर्को विरोध जनाएपछि रवि र उनको दल रास्वपाका नेताहरूले सुरक्षाका कारण कारागार प्रशासनले नै प्रक्रिया पु¥याएर उनलाई जेलमुक्त गरेको दाबी गरेका छन् । उनीहरूले पत्र नै सार्वजनिक गरेका थिए । तर समय क्रममा कारागार विभागले रविलाई छाड्न दिएको भनिएको पत्रसमेत किर्ते भएको खुलेको छ । यस घटनाले आमरूपमा रविबारे नकारात्मक सन्देश गयो । कान्तिपुरलगायत मिडिया र अन्य दलका नेताहरूका घर जलाउन जानेहरूमा पनि रास्वपाका कार्यकर्ता रहेको प्रहरी स्रोतको भनाइ छ ।
२४ भदौको विध्वंशमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ता परिचालन भएको पाइएको छ । संलग्नहरूको तस्बिर र भिडियो सार्वजनिक हुन थालेपछि माओवादी केन्द्रले सो घटनामा संलग्न आफ्ना कार्यकर्तालाई कारबाही गर्ने जनाएको छ । यस आन्दोलनमा गैरनेपालीसमेतको संलग्नता रहेको थियो । लामिछाने जेलबाट भागेपछि देशभरका विभिन्न जेलबाट १४ हजार कैदीबन्दी भागेका थिए । यसमा कैदीबन्दीहरूको प्रश्न थियो–‘रवि निस्कन हुने हामी किन नपाउने ?’ तर लामिछानेले यसलाई अस्वीकार गर्दै कारागार विभागको नाममा किर्ते पत्र बनाएर सामाजिक सञ्जालमा पढ्दै हिँडेका छन् । यसले आमसमर्थकमा उनीप्रतिको विश्वासको संकट उत्पन्न गरिदिएको रास्वपाकै नेताहरूले बताउँछन् । जेनजी आक्रोशलाई अदालतमा आगो लगाउनसमेत भड्काएको आरोप उनीमाथि लागेको छ । यसरी जेनजी ‘क्रान्ति’बाट रातारात राज्यसत्ता आफ्नो हातमा लिने उनको भित्री महत्वाकांक्षा अन्ततः उनैको योजना प्रत्युत्पादक बनेको छ । कारागार प्रशासनको हाजिर हुने पत्रका आधारमा लामिछाने आफैं नख्खु जेल गइसकेका छन् ।
जेनजीले गरेको आन्दोलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटारबाट भागेपछि पनि नेताहरूमाथिको आक्रमण र सार्वजनिक सम्पत्ति जलाउने काम रोकिएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाकै अगाडि भौतिक संरचना ध्वस्त भएका छन् । ती संरचना जोगाउने विषयमा नेपाली सेनाको भूमिका कमजोर देखिएको आमटिप्पणी भएको छ । सो आन्दोलनबाट मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, तीन तहकै अदालत, प्रहरी, प्रशासन, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालय, राजनीतिक दलका शीर्ष नेताहरूका निजी निवास आन्दोलनकारीको निशानामा परे । प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता भागाभाग भएपछि नेपाली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको थियो ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणासहित केही नेताहरूलाई भने आन्दोलनकारीले भेटाएर कुटपिटसमेत गरेका थिए । आन्दोलनका क्रममा भौतिक तथा मानवीय क्षेत्र पुर्याउनेहरूको तथ्यांक नेपाल प्रहरीले संकलन गरिरहेको छ । घटनाको अनुसन्धान सुरु भइसकेकाले केही समयमै वास्तविकता पत्ता लाग्ने प्रहरीले दाबी गरेको छ ।
झाँगिदै आन्तरिक लफडा
रास्वपाकी पूर्व सहमहामन्त्री एवं निवर्तमान सांसद सुमना श्रेष्ठले आइतबार रास्वपा छाडिन् । पार्टी केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा तीन विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी श्रेष्ठले पार्टीको मूल नेतृत्व अर्थात् सभापति रवि लामिछामाथि आक्रोशित बनेकी छन् ।
उनले लेखेकी छन्, ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छोडें ।’ श्रेष्ठले स्पष्ट रूपमा पार्टी नेतृत्व अर्थात् रास्वपा सभापति रवि लामिछानेप्रति संकेत गर्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’ उनले लेखेकी छन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।’
तीन वर्षअघि पार्टी स्थापना हुँदा रास्वपाको क्रेज जति देखिन्थ्यो आज आइपुग्दा त्यसैगरी खस्किएको छ । पार्टी स्थापनाको ६ महिनामै संसदको चौथो दलको हैसियत बनाएको थियो । पुराना दल एमाले र माओवादी सरकारका दुईपटक सहभागी भएपछि रास्वपामाथिको अविश्वास सुरु भएको थियो । यसैबीच पार्टी सभापति लामिछाने सहकारी ठगीको आरोपमा जेल परेपछि पार्टीमा एकताका साथ उनलाई निकाल्ने कोसिस हुँदै आएको थियो । तर अहिले उनलाई विस्तारै नेताहरूले छाड्दै जाने तयारीमा छन् ।
दास्रोपटक सरकारमा जाने तयारी भइरहँदा सभापति लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा आवश्यक भएको भनेपछि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड डिल गरेको अडियो सार्वजनिक भएको थियो । पछिल्लो समय विभिन्न जिल्ला क्षेत्र र प्रदेश समितिका नेताहरूले धमाधम पार्टी छाडिरहेका छन् । कतिपयलाई पार्टीले कारबाहीसमेत गर्दै आएको छ ।
लामिछानेको उत्तेजक भाषणबाट फ्यान भएकाहरूले सिर्जना गरेको माहोल पटकपटकको सत्ताका लागि गरेको सौदाबाजी र ठुला दलका नेताहरूसँगको साठगाँठले गर्दा पार्टीप्रतिको क्रेज घटेको गत इलामको उपनिर्वाचनले पुष्टि गरेको थियो । सोही क्रममा पार्टीकै महामन्त्री मुलुक ढकालले जिल्लाजिल्लामा पुगेर पार्टीको प्रतिवेदन ल्याएपछि सभापति लामिछानेलगायत नेताहरूले महामन्त्रीलाई साधारण सदस्यबाटै हटाएका थिए । त्यसयता रास्वपाभित्र आन्तरिक लफलडा एकपछि अर्को गर्दै आइरहेको छ ।