काठमाडौं : भोटेकोशीको विनाशकारी बाढी तिब्बतमा हिमताल फुटेर आएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन् ।
मंगलबार बिहान भोटेकोशीमा आएको अप्रत्याशित बाढीले चीनसँग नेपालको मुख्य सीमानाकामा रहेको नेपाल र चीनबीच रणनीतिक महत्व रहेको मितेरी पुल बगाएको छ । बाढीमा ९ जनाको मृत्यु भएको छ ।
बाढीले रसुवागढी, त्रिशूली थ्री–ए, त्रिशूली र बेनीघाट गरी चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसले गर्दा नेपालको कुल विद्युत् आपूर्तिको लगभग ८ प्रतिशत अर्थात् २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै, सीमानाकाको नेपालतर्फ रोकिराखिएका १०० भन्दा बढी मालवाहक ट्रक बगेका छन् । साथै, टिमुरे सुक्खा बन्दरगाहमा रहेका ५० वटा नयाँ आयातित चिनियाँ विद्युतीय कार पनि बाढीले बगाएको छ ।
बाढी आउनुअघिको २४ घण्टा अघिसम्म नेपाल र चीनतर्फ भारी वर्षा भने भएको थिएन । वर्षा नहुँदा पानी परेरै बाढी आएको सम्भावनालाई नकारेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनार बाढी आउनुको कारण अहिले नै यकिनका साथ भन्न नसकिने बताउँछन् । तर भोटेकोशीको बाढी तिब्बतमा भएको हिमताल विस्फोटको परिणाम हुन सक्ने सम्भावना उच्च रहेको उनी बताउँछन् ।
भोटेकोशी नेपाल–चीन सीमा नजीकैको गणेश हिमालको उत्तरी पाखोबाट शुरू हुन्छ भने यसको सहायक नदी लेन्दे खोलाले लाङटाङको उत्तरमा रहेको जलाधार क्षेत्र समेतलाई समेट्छ ।
हिमताल विस्फोटको सम्भावना
भू–उपग्रह तस्वीरको विश्लेषणले रसुवाको बाढी तिब्बती क्षेत्रको सुप्राग्लेसियल हिमताल विस्फोटको कारण भएको प्रारम्भिक निष्कर्ष देखाएको छ ।
जलवायु परिवर्तन अध्ययन गर्ने संस्थाहरूले यस घटनाको पुष्टि गरेका छन् भने जल तथा मौसम विज्ञान विभागले अध्ययन भइरहेको बताएको छ ।
विज्ञहरूको अध्ययनले पनि ताल विस्फोट भएको पुष्टि गरेको र बाढीको कारण यसलाई मानिएको छ ।
जलवायु परिवर्तन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।
जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रबल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताएको छ ।
जलवायुविद् डा. धर्मराज उप्रेतीले स्याटेलाइट तस्वीरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने बताए ।
‘सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिलेसम्मको प्रारम्भिक अध्ययनले देखिन्छ । त्यो स्थानमा भारी वर्षा पनि नभएको र स्याटेलाइट तस्वीरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ,’ उनले भने ।
चीनको तिब्बत क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा बनेको ताल बगेको देखिएको र यसको परिवर्तनशीलता अध्ययन भइरहेको छ ।
नेपाल सरकारले पनि बाढीको कारण आधिकारिक रूपमा पुष्टि गर्न सकेको छैन भने चीनसँग समन्वय गरी अनुसन्धान जारी छ ।
चाइनिज एकेडेमी अफ साइन्सका डा. गुओक्सिओङ चेङको सहयोगमा नेपाली विज्ञ डा. नितेश खड्काले सार्वजनिक गरेको विवरण अनुसार रसुवाभन्दा उत्तरतर्फको उच्च हिमाली भेगमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको सतह र भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यसैले बाढी आएको हुनसक्ने उनको अनुमान छ । तर यो प्रारम्भिक विश्लेषण मात्र भएकाले यसबारे अझ गहिरो निगरानी र अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार सुप्राग्लेसियल तालहरू सधैं परिवर्तनशील र अस्थायी प्रकृतिका हुन्छन् । जलवायु परिवर्तनको असरले यस्ता तालहरू छिटो–छिटो बन्छन् । सन् २०२१ भन्दा पहिले त्यहाँ ताल देखिँदैन । तर सन् २०२२ मा साना तालहरू देखिन्छन् । २०२३ को ताल अझै ठूलो देखिन्छ भने २०२४ नोभेम्बर ३० त्यो ताल हराएको देखिन्छ । २०२५ जुलाई ५ मा भने त्यहाँ पुनः ताल देखा परेको छ ।
२०२५ जुलाई ८ (२४ असार २०८२)को तस्वीरमा भने ढुंगामाटोको थुप्रोले ढाकिएको हिमनदीको सतह भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यो पानी माटो, ढुंगा सोहोर्दै बगेको र बाढीको रूप लिएर रसुवामा विपत्ति निम्त्याएको हुनसक्ने डा. खड्काको विश्लेषण छ ।
तिब्बत हुँदै बगेर नेपालको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको सो बाढीले रसुवामा उच्च, नुवाकोटमा मध्यम र धादिङमा हल्का असर गरेको छ ।
जोखिममा हिमताल
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को एक अध्ययनअनुसार नेपालका उपत्यकालाई खतरामा पार्ने ४७ वटा सबैभन्दा जोखिमपूर्ण हिमतालमध्ये २५ वटा त तिब्बतका हिमनदीमा अवस्थित छन् ।
यसका अलवा यस क्षेत्रमा भूकम्पीय गतिविधिको पनि थप जोखिम छ, जसले कमजोर हिमालय भूखण्डलाई थप अस्थिर बनाउने गर्छ भने हिमताल विस्फोटनको जोखिम पनि बढाउने गर्छ ।
सन् १९३४ मा तिब्बतमा फुटेको हिमतालबाट भोटेकोशीमा आकस्मिक रूपमा विनाशकारी बाढी आएको थियो ।
यस्तै, सन् २०२३ को अक्टोबरमा कञ्चनजंघाको भारतीय भूभागमा रहेको दक्षिण ल्होनाक हिमतालको मोरेन (हिमनदीले थुपारेको गेग्रान) भत्किँदा तालको पानी बाहिर आउँदा सिक्किममा रहेको चुङथाङ बाँध र अन्य पूर्वाधार बगाउँदा करीब १०० जनाको मृत्यु भएको थियो ।
फरक प्रकृतिको बाढी
सरकारले यो विनाशकारी बाढीको कारण आधिकारिक रूपमा बताइसकेको छैन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली रसुवाको बाढी हिमताल फुटेर आएको भन्दा फरक प्रकृतिको भएकाले अध्ययनमा समय लागेको बताउँछन् ।
‘हिमताल फुटेको हो भने एक्कासी बाढी ह्वात्तै बढ्ने र कम हुने हुन्छ । त्यसैले विगतको भन्दा यसको प्रकृति अलि फरक छ,’ पराजुली भन्छन्, ‘कतै थुनिने र पछि बग्ने (क्यासकेडिङ इफेक्ट) भएको हो कि भनेर अध्ययन पनि गर्नुपर्छ’, उनले भने ।
इसिमोडको २०२१ को तथ्यांक अनुसार, त्रिशूली नदीको माथिल्लो धारतिर (चीनको तिब्बत स्वायत्त क्षेत्रतिर) पर्ने एक हिमनदी ताललाई उच्च जोखिमयुक्त तालको रूपमा वर्गीकृत गरिएको र त्यसको नजिकबाट निगरानी आवश्यक रहेको उल्लेख छ ।
सन् १९९० देखि २०२० सम्मको ३ दशकको अवधिमा यस नदी प्रणालीमा पर्ने हिमनदी तालहरूको आकार ३३ प्रतिशतले र संख्या १६ प्रतिशतले बढेको छ । बाढी आउनुअघिका केही उपग्रह चित्रहरूले पनि हिमनदी तालहरूको संख्या बढेको देखाएका छन् । तर, कुन ताल फुटेको हो वा कुनै तालमा आकस्मिक परिवर्तन आएको हो भन्ने पत्ता लगाउन उच्च रिजोल्युसनयुक्त उपग्रह चित्र पर्खनुपर्ने इसिमोडका विज्ञहरू बताउँछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनार चीनसँग पनि समन्वय गरेर बाढीको कारण पत्ता लगाउने कोसिस भइरहेको बताउँछन् ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट मित्रराष्ट्रसँग समन्वय गरेर विपद्को कारण पत्ता लगाउने, दीर्घकालीन समस्या समाधानको उपाय निकाल्ने लगायतका कोणबाट अघि बढ्ने भन्ने कुरा भएको छ,’ उनले भने ।
४ जलविद्युत् आयोजना क्षति
भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
यसैगरी त्रिशूली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी , त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।