काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको आरोपमा उजुरी दर्ता गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सुवेदीले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत भ्रामक र चरित्रहनन गर्ने अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो ।
सुवेदीले एक युट्युब अन्तर्वार्तामा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुईवटा ट्रकमा निकालिएको दाबी गरेका थिए । यो अभिव्यक्तिलाई माओवादी केन्द्रले ‘झुटो र आधारहीन’ भन्दै कडा आपत्ति जनाएको छ । पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै सुवेदीको दाबीको प्रमाण पेश गर्न चुनौती दिएको थियो ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको जानकारी दिए । उनले भने, “सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाएर पार्टी नेतृत्वको चरित्रहनन गर्ने र भ्रम सिर्जना गर्ने कार्य साइबर अपराध हो । यस्ता गलत प्रचारविरुद्ध कानुनी कारबाहीको मागसहित उजुरी दर्ता गरिएको छ ।”
उजुरीमा डिजिटल माध्यमबाट गरिएको यस्तो प्रचारले साइबर कानुनको उल्लंघन गरेको उल्लेख गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ । माओवादी केन्द्रले सुवेदीको अभिव्यक्तिले पार्टी र नेतृत्वको छविमा आँच पुगेको ठहर गरेको छ ।