कपिलवस्तु : शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुलाई प्राप्त झन्डै ३० करोड रुपैयाँको बजेट अन्तरिम सरकारले रोक्का गरेपछि वैकल्पिक सडकमार्गका कामहरू अलपत्र परेका छन् । वैकल्पिक सहायक राजमार्ग अन्तर्गतका १० वटा सडक योजनामा परेको बजेट रोकिँदा ठेक्का लागिसकेका कामहरू समेत प्रभावित भएका हुन् ।
रोक्का गरिएको योजनामध्ये अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–२ मा पार्किङ स्थल निर्माण, सन्धिखर्क नगरपालिका–७ सुपादेउराली मन्दिर कम्पाउन्ड व्यवस्थापन, भालुवाङ–नुवाकोट–खन–गुफा हुँदै खरवाङ सडकका ९ करोड रुपैयाँका बजेट समेत रहेका छन् । राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क–गोरुसिंगे सडकमा पर्ने सुपादेउराली मन्दिर अगाडि ढलान गर्ने र सडक विस्तार गर्ने कार्यका लागि ठेक्का प्रक्रियामा पुगेको बेला सरकारले बजेट रोक्का गरेको सडक डिभिजन प्रमुख सबिन कोइरालाले जानकारी दिए ।
उनका अनुसार कपिलवस्तुको कार्यक्षेत्रभित्र पर्ने अर्घाखाँचीका सहायक राजमार्गका लागि १८ करोड र कपिलवस्तुका लागि १२ करोड गरी कुल ३० करोड बजेट रोकिँदा स्थानीय निकाय र सरोकारवालाले भौतिक पूर्वाधार तथा अर्थ मन्त्रालयसँग बजेट फुकुवा गर्न अनुरोध गरेका छन् । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार, बजेट रोकिँदा विभिन्न सडक योजनाको प्रगति रोकिएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे–सन्धिखर्क सडकको विस्तार र मर्मत कार्यका कारण यात्रुहरूलाई सहजता आएको छ । साँघुरो सडक, खाल्टाखुल्टी र जीर्ण पिचका कारण विगतमा जोखिमपूर्ण यात्रामा रहेका सवारी चालकहरू अहिले सहज महसुस गरिरहेका छन् । चालक मेघबहादुर खड्काका अनुसार, सडक फराकिलो र समथर भएपछि यात्रा सहज बनेको छ ।
गोरुसिंगे–सन्धिखर्क सडकको लम्बाइ करिब ६८ किलोमिटर र चौडाइ केही ठाउँमा ७ मिटर र केही ठाउँमा ५ मिटर रहेको छ। त्यसमध्ये ६७.५ किलोमिटर सडक कालोपत्रे भइसकेको डिभिजन प्रमुख सविन कोइरालाले बताए । गत आर्थिक वर्ष २०८१÷८२ मा अर्घाखाँची सेक्टरमा पहिरो रोकथाम तथा स्तरोन्नति, मर्मत र सडक सुरक्षाका लागि करिब ५ करोड रुपैयाँ बराबरका काम सम्पन्न भए पनि यस वर्ष बजेट रोकिँदा कठिनाइ भएको उनको भनाइ छ ।
वर्षा समयमा पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले सडक सुचारु राख्नका लागि दुईवटा मेसिन — जेसिभी ठाडामा र लोडर नरपानीमा–असारदेखि भदौसम्म स्ट्यान्डबाइ राखिएको थियो। शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका अन्तर्गतका सडक खण्डहरूमा उच्च पहिरो जोखिम रहेकाले प्राविधिक परीक्षणपछि सुधार गर्ने योजना भए पनि बजेटको अभावले त्यो योजना अघि बढ्न नसकेको कोइरालाले बताए ।
चालु आर्थिक वर्ष २०८२/८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि राष्ट्रिय राजमार्गले ८ करोड ४० लाख रुपैयाँको बजेट प्राप्त गरेको थियो । गोरुसिंगे–सन्धिखर्क सडक स्तरोन्नतिले गति लिएपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरूको संख्या बढेको छ ।
अघिसम्म चट्टानी भीरको साँघुरो सडकका कारण कठिनाइमा यात्रा गर्ने तीर्थयात्रीहरू अहिले सजिलोसँग सवारी साधनमा मन्दिर पुग्न सक्ने भएका छन् । सुपा देउराली खण्डमा रक एंकर प्रविधि प्रयोग गरेर ड्रिल गरी आरसीसी ढलानमार्फत सडक विस्तार गरिएको थियो। यस वर्ष त्यही ठाउँमा थप ढलान र विस्तार गर्ने योजना भए पनि बजेट रोकिँदा त्यसमा ढिलाइ भएको छ ।
लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडक पहिले मुस्किलले साढे ४ मिटर चौडाइको मात्र थियो, अहिले सडक डिभिजन सिवपुरले स्तरोन्नति गरेर करिब ९ मिटर चौडाइमा पु¥याएको छ । यसले यातायात आवागमनमा सहजता ल्याएको स्थानीय नागरिकहरूले बताएका छन् ।