२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

छत्रदेव गाउँपालिकामा पञ्चवर्षीय शिक्षा योजना सार्वजनिक

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार ३० गते २०:३०
छत्रदेव गाउँपालिकामा पञ्चवर्षीय शिक्षा योजना सार्वजनिक

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका, अर्घाखाँचीले ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल उद्देश्यसहित पञ्चवर्षीय शैक्षिक आवधिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरेको छ । 

गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तरीय, प्रविधिमैत्री, समावेशी र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपान्तरणको दस्तावेज तय गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार अब बन्ने स्थानीय शिक्षा नीति र कानुनहरू यसै योजनालाई आधार मानेर निर्माण गरिने छ । 

‘गाउँपालिकाको नीति, कार्यक्रम र बजेट समेत यही योजनाको मार्गदर्शनमा तय हुनेछ,’ पाण्डेले स्पष्ट पारे । 

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले यो योजना छत्रदेवको शिक्षामा आमूल परिवर्तन ल्याउने युगान्तकारी कदम हुने विश्वास व्यक्त गरे । ‘शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम मानव स्रोत उत्पादनमा केन्द्रित योजना तयार भएको छ,’ श्रेष्ठले भने । 

शिक्षा योजना निर्माण कार्यदलका सदस्य जीवन कुमार श्रेष्ठले योजना सफलता, कमजोरी, अवसर र चुनौतीको विश्लेषणका आधारमा व्यवहारिक कार्ययोजना बनाइएको जानकारी दिए । अर्का सदस्य प्रकाशमणि घिमिरेले ‘मानव स्रोत विकासमा टेवा पु¥याउने भरपर्दो आधारशिला’ भएको बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख तुलसीराम न्यौपानेले योजना समग्र शैक्षिक संरचनाको रूपान्तरणतर्फ लक्षित भएको उल्लेख गर्दै शिक्षकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

उपाध्यक्ष मनी पन्थीले सबै खालका बालबालिकाको शिक्षा पहुँच सुनिश्चित गर्न यो योजना निर्णायक हुने बताइन् । ‘समावेशी र गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा यसले महत्वपूर्ण मोड दिन्छ,’ उनले भनिन् । 

प्राविधिक सहयोगी गीता अर्यालले शिक्षामा रूपान्तरण नीति मात्रै होइन, इमान्दारिताका साथ कार्यान्वयनमा निर्भर हुने बताउँदै छत्रदेवको प्रयास अन्य स्थानीय तहका लागि प्रेरणादायी बन्ने धारणा व्यक्त गरिन् । 

योजना निर्माण कार्यदलमा अध्यक्ष राजन पाण्डे, सदस्यहरु प्रकाशमणि घिमिरे, कृष्ण प्रसाद पौडेल, जीवन कुमार श्रेष्ठ, पशुपति आचार्य, मेनका भुसाल, धनिश्वर पाण्डे, गीता अर्याल र सदस्य सचिव तुलसीराम न्यौपाने रहेका थिए ।

योजनाअनुसार अब गाउँपालिकाका विद्यालयहरूमा प्रविधिमैत्री पूर्वाधार विकास, बालमैत्री र नैतिक शिक्षामा आधारित वातावरण सुनिश्चित, जीवन उपयोगी सीप हस्तान्तरण र सूचना प्रविधिको प्रभावकारी प्रयोग र समावेशी पहुँचको प्रवद्र्धनमार्फत शिक्षा प्रणालीको गुणात्मक सुधार गरिनेछ । अध्यक्ष श्रेष्ठले कार्यदललाई धन्यवाद दिँदै, अबको यात्रामा नीति र कार्यान्वयनबीचको समन्वयलाई प्राथमिकता दिइने उल्लेख गरे । 

यस योजनाले छत्रदेवलाई शैक्षिक रूपान्तरणको नयाँ युगतर्फ उन्मुख गराउने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise