काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यहरुले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । उनीहरुले अध्यक्ष नेपालमाथि पार्टी विभाजनमा भूमिका खेलेको गम्भीर आरोपसमेत लगाएका छन् ।
स्थायी कमिटीको बैठकमा बुधबार रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुलीलगायतका सात नेताले नेपालको राजीनामा मागेका हुन् । अध्यक्ष नेपालबिरुद्ध उनीहरुले मुख्यतः तीन गम्भीर आरोप लगाएका छन् । पहिलो, लामो समय पार्टी नेतृत्वमा रहेर समग्र वाम आन्दोलनको भ्रष्टिकरणमा भूमिका खेलेको । दोस्रो, पार्टी विभाजनको एउटा कारण उनी बनेको । तेस्रो, आफूबिरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि पनि नेतृत्व नछाडेको । ‘अध्यक्षले भ्रष्टाचारको मुद्दा खेपिरहेको पार्टीले कुन नैतिकता र मनोबलबाट सुशासनको मुद्दा बोक्न सक्छ ?’ नेताहरुको प्रश्न थियो ।
पछिल्लो जेनजी आन्दोलनपछि दलहरुमा बर्षौ नेतृत्वमा रहेका नेताहरुले विदा लिनुपर्ने दबाब बढिरहेको छ । तर नेताहरु कमिटीको बहुमतलाई देखाएर पद छाड्न इच्छुक छैनन ।
आफूमाथि गम्भीर आरोप लागे पनि अध्यक्ष नेपालले जवाफ भने फर्काएनन् । पार्टी, विचार र नेतृत्वको समग्र छलफल पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा हुने बताए । स्थायी कमिटी बैठकले आउँदो कात्तिक ११ गते पोलिटब्युरो र १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक तय गरेको छ ।