–रानी शर्मा तिवारी
अरबी भाषाको शब्द जहेजबाट अपभ्रंश भई हिन्दी र मधेशका अन्य भाषामा दहेज शब्द भयो । सोही दहेज शब्द नेपाली (खस÷गोर्खा) भाषामा आइपुग्दा दाइजो भयो । दहेज वा दाइजो हजारौं वर्ष पहिले देखि विश्वभर नै प्रचलित छ । अंग्रेजीमा “डओरी” भनिने यो शब्दका लागि टर्किशमा “सेइज”, फ्रेन्चमा “डट”, स्पानिशमा “डोते”, जर्मनमा “मितनिप्mत” अफ्रिकाका विभिन्न क्षेत्रमा “सेचात्वाना”, “इदाना”, “सडुक्वाट” र “मुग्ताफ” जस्ता शब्दहरुको प्रयोग गरिने गर्छ । इतिहास पल्टाएर हेर्दा बेबिलोन सभ्यता, रोम सभ्यता, ग्रीस, भारत, चीन, युरोप अमेरिकाका जनजाती संस्कृति तथा मेक्सिको, न्यु फ्रान्स, संयुक्त राज्य अमेरिका, ब्राजिललगायतका देशमा दाइजो वा दहेज प्रथा प्रचलनमा रहेको ऐतिहासिक आधारहरु भेटिन्छन् ।
वर्तमानमा यो प्रथा वा चलन भारत, बंगलादेश, पाकिस्तान, नेपाल, श्रीलंका, अफगानिस्तान, इरान, टर्की, अजरबैजान, ताजिकिस्तान, इजिप्ट, मोरक्को बेल्जियम र सर्वियामा बढी मात्रामा प्रचलनमा रहेको छ । दाइजोको प्रचलन विभिन्न देश र क्षेत्रहरुमा विभिन्न कालखण्डमा फरक फरक पृष्ठभुमीबाट शुरु भएको इतिहासकारहरुले बताउने गरेका छन् । तर दाइजोको शुरुवात महिलाको हितमा÷सम्पती माथिको अधिकार संरक्षणका लागि भएको थियो वा तिनमाथिको भेदभावको रुपमा त्यसमा भने विद्वान र इतिहासकारहरु एक मत छैनन् । अधिकांश सभ्यतामा महिलालाई आत्मनिर्भर बनाउन र सम्पती माथिको अधिकार एवं भविष्य सुरक्षित गर्न दाइजोको शुरुवात भएको धेरै जसो विद्वानहरुको तर्क रहेको छ । कतिपय सभ्यतामा राज्यको तर्फबाट नै महिलाको विवाहमा सम्पतीको अधिकार सुरक्षित गर्ने गरी दाइजोको कानुनी व्यवस्था गरेको समेत इतिहास छ । कतिपय विद्वानहरुका अनुसार शुरुमा महिलालाई आत्मनिर्भर बनाउन व्यवस्था गरिएको दाइजो प्रथा कालान्तरमा विकृत भई महिला हिंसाको कारणको रुपमा परिणत भएको तर्क गर्छन् ।
भारतीय उपमहाद्विपको कुरा गर्दा यस क्षेत्रमा दाइजो कहिलेबाट शुरु भएको थियो भन्नेमा विद्वानहरुको एकमत छैन । तथापि मनुस्मृतिमा समेत दाइजो सम्बन्धी व्यवस्था भएबाट ऐतिहासिक कालबाटै यस क्षेत्रमा दाइजोको प्रचलन रहेको देखिन्छ । हुन त इशापुर्व ३०० ताका अलेक्जेण्डरले भारतीय उपमहाद्विपमा आक्रमण गर्दा यहाँ गुण र रुपको आधारमा विवाहका लागि महिला पुरुषको चयन हुने गरेको र दाइजो गौण रहेको आर्रियन र मेगाथेन्सले आप्mनो किताबमा उल्लेख गरेका छन् । भारतीय उपमहाद्विपमा माथिल्ला भनिएका जाति समुदायमा मात्र रहेको दाइजो प्रथा पछि पुरै समाजमा विस्तार भएको हो । अधिकांश विद्वानहरुको मतलाई मान्ने हो भने विश्वका अन्य भागमा जस्तै भारतीय उपमहाद्विपमा पनि दाइजोको शुरुवात दुई थरीबाट भएको थियो । पहिलो अपार सम्पति भएका धनाढ्य व्यक्ति र राजा रजौटाले आफ्नी छोरीलाई विवाहको समयमा उपहारस्वरुप सम्पति प्रदान गर्ने चलन बाट र अर्को महिलालाई पैत्रिक सम्पति माथि हक कायम गराई आत्मनिर्भर गराउन, शुरुका दिनमा दाइजो विवाह हुने महिलालाई प्रदान गरिन्थ्यो जुन सम्पतिमा महिलाको हक लाग्दथ्यो । त्यस्तो सम्पति वा गरगहना सामान प्रयोग गर्न वा बेच बिखन गर्न पनि उक्त महिलाको अनुमति अनिवार्य मानिन्थ्यो । संगोलको सम्पति बाड्फाँड हुँदा समेत दाइजोको रुपमा प्राप्त सम्पति छुटै सोही दाइजो प्राप्त महिलाको लागि छुट्याएर मात्र बाड्फाँड हुने गरेको इतिहासकारहरुले लेखेका छन् । यसरी दिईने दाइजो कर कापले होइन महिलाको परिवारले राजीखुशीले आप्mनो छोरीको लागि भनी छुट्याएर दिने चलन थियो । तर काल खण्डमा दाइजोलाई स्तर मिलानको माध्यम बनाएर आप्mनो छोरीलाई यति दिन सक्नेको छोरीसँग मात्र विवाह गर्ने भन्ने प्रवृति विस्तारै बढेर गयो । साथै बुहारीलाई प्राप्त हुने सम्पति (दाईजो) आफु वा जसको विवाह हुने हो उसको नाममा लिन थालियो । अझ समय बित्दै जाँदा दाइजोको नाममा सिधै पैसा वा सम्पति केटा पक्षले माग्ने चलन विकृतिका रुपमा स्थापित हुँदै गयो यस महाद्विपमा ।
छोरीलाई स्वेक्षाले आत्मनिरभरताका लागि दिने गरिएको दाइजो अब हुनेवाला ज्वाइँ र सम्धीले अधिकारपुर्वक माग्न थाले । त्यतिमात्र नभई दाइजो नल्याए महिलालाई उत्पीडन गर्ने सम्मका घटना व्यापक रुपमा बढेर गयो । अहिले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका दक्षिण एसियाली देशहरुमा दाइजो प्रथा विकृतीको रुपमा समाजमा जरा गाडेर बसेको छ । नेपालमा र दक्षिण एसियाका अन्य मुलुकमा समेत दाइजो प्रथालाई रोक्न कानुन बनाइएका छन् । तथापि यो विकृति रोक्ने महत्वपूर्ण जिम्मेवारीमा बसेका, पढेलेखेका, बुद्धिजीवी, समाजसेवी, नेताहरु नै दाइजो माग गर्ने र दाइजो नल्याए श्रीमती र बुहारीमाथि अत्याचार गर्नेमा पर्ने गरेका छन् । नेपालको सन्दर्भमा मधेशका केही उच्च जाति समुदायमा मात्र सीमित रहेको यो विकृति विस्तारै अन्य जाति समुदाय हुँदै पाहाडी क्षेत्रमा समेत विस्तार भएको छ । विभिन्न कानुन बनाइए पनि यो विकृति घट्नुको सट्टा झन्झन् बढ्दो छ ।
दाइजो प्रथाको विकृति एउटा उदाहरण हो । कुनै पनि चलन वा संस्कार राम्रै उद्देश्यका साथ शूरु गरिएको भएपनि त्यसलाई सही व्यवस्थापन गर्न नसक्दा समाजमा विकराल विकृतिको रुप लिन्छ भन्ने । दाइजो प्रथाको विकृती उन्मुलनका लागि कानुन मात्र पर्याप्त छैन भन्ने देखि सकिएको छ । दाईजो प्रथा नियन्त्रणका लागि व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन आवश्यक छ । व्यापक जनचेतनाले केही न्युनिकरण हुन सक्छ यो समस्या । यसका साथै महिलालाई पैत्रिक सम्पतीमा समान हक कायम गर्न सकेमापनि महिलालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ, जसले गर्दा दाइजोका कारण महिलामाथि हुने हिंसा कम हुन्छ । छोरीका आमाबुवाले आप्mनी छोरीलाई अंश दिनु ठिक हो तर छोरीको हुनेवाला पति वा ससुरासँग मोलमोलाई गर्ने प्रवृति पनि छोड्नु पर्छ । सबै छोरीका परिवारले दाइजो माग्ने केटा र परिवारलाई बहिस्कार गर्न थालेमा पनि यो समस्या समाधानतर्फ जान सक्छ । अर्को उपाय भनेको दाइजो माग्नेलाई सार्वजनिक बहिष्कारका कार्यक्रम समाजमा चलाउन सकिन्छ । तर सबै उपायका लागि समाज, परिवार अनि व्यक्ति सचेत र चेतनशील हुन जरुरी छ । अर्कोतर्फ महिलालाई आत्मनिर्भर बनाउन महिलाको शिक्षा दिक्षाको साथै पैतृक सम्पतिमाथिको हक सुनिश्चित गरिनु पनि आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies