२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

नारायणी अस्पतालमा सुत्केरीले पाएनन् यातायात खर्च

draupadi film
आबिद हुसेन
२०८१ भदौ १२ गते २१:३२
नारायणी अस्पतालमा सुत्केरीले पाएनन् यातायात खर्च

वीरगन्ज : दुई हप्ता अघि नारायणी अस्पतालमा छोरीको प्रसूती गराएका महेश पासवान ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गतको यातायात खर्च बापत सरकारबाट पाइने एक हजार रुपैयाँ लिन बुधबार अस्पतालमा पुगे । तर कर्मचारीले असोजको भाका सारे । त्यसपछि उनी निरास हुँदै घर फर्किए ।

बुधबार दिउँसो नारायणी अस्पताल परिसरमा भेटिएका पासवानले भने,‘एक हजार भत्ता लिन २ हजार खर्च कसले गर्छ ?, उहि बेला नै पाइदैन भन्दिएको भए अहिले म किन आउँथे र ? आजै किराया भाडामा ५ सय खर्च भइ हाल्यो । अब फेरि असोजमा आउनु भनेका छन् । फेरि ५ सय खर्च हुन्छ । दुई दिनको मजदुरी १ हजार हुन्छ । अनि १ हजार भत्ता लिनका लागि २ हजार खर्च कसले गर्छ  ?’

आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापत सुत्केरी महिलाले पाउने यातायात खर्च रकम वितरण कार्य वीरगञ्जको नारायणी अस्पतालमा साउन १ गतेदेखि रोकिँदा पासवानजस्तै १ हजार बढी सेवाग्राही मर्कामा परेका छन् । 

अस्पतालमा जन्मिएका नवजात शिशु र सुत्केरी महिलाालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै अस्पतालले उपलब्ध गराउनुपर्ने उक्त रकम नारायणी अस्पतालले साउन १ गतेदेखि वितरण गरेको छैन । जसका कारण साउन १ गतेदेखि भदौ ११ गतेसम्म उक्त सुविधाबाट १ हजार ४८ सुत्केरी वञ्चित भएका छन् ।

साउन २७ गते शिशु र आमालाई डिस्चार्ज गर्ने बेला अस्पतालका कमर्मचारीले चालू आर्थिक वर्षका लागि अस्पतालको खाता नखुलेकाले भदौ १० गते यातायात खर्च बापतको भत्ता रकम लिन आउनु भनेर पठाएका थिए । 

त्यही अनुसार बुधबार अस्पतालमा आउँदा फेरि कर्मचारीले त्यही जवाफ फर्काएर अब असोजमा आउन भनेपछि उक्त रकमका लागि अब फेरि अस्पताल नआउने बरु भत्ता नै नचाहिने भन्दै आक्रोश पोख्दै पासवान घर फर्किए ।

पासवानको उक्त गुनासो लिएर पुग्दा अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गत असार २४ मा बन्द गरेको अस्पतालको खाता हालसम्मपनि नखोलिदिएका कारण यस्तो समस्या भएको बताए ।

सुत्केरीलाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै यातायात खर्च बापतको रकम दिनुपर्ने निर्देशिकामा उल्लेख भएपनि अस्पतालको खाता नखुलेका कारण साउन १ गतेदेखि उक्त रकम वितरण गर्न नसकिएको उनले बताए । 

चालु आर्थिक वर्षका लागि साउन दोश्रो या तेश्रो हप्तामै खाता पुनः खोल्नुपर्ने भएपनि कोलेनिकाले त्यसमा ढिलाइ गरेका कारण आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापतको रकम वितरण गर्न नसकिएको हकले बताए ।

डा.हकले भने,‘अब यो समस्या छिट्टैै समाधान हुन्छ । यदि कोलेनिकाले १/२ दिनमा पनि खाता खोलेन भनेपनि अस्पताल प्रशासननले अन्य कतैबाट रकमको जोहो गरेर उक्त सुविधा उपलब्ध गराउँछ ।’

ADV

सम्बन्धित खबर

Advertise