२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १६:२९
दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

म्याग्दी : आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । समुन्द्री सतहबाट ५ हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड जाने पदमार्गमा होटल तथा लज छैनन् ।

दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ ।

धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताए । ‘धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ’, उनले भने, ‘जनशक्ति र खाद्यान्न व्यवस्थापन गर्ने आर्थिक स्रोत अभाव हुँदा दुई महिनामात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।’

घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०/२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाताले छाएको टहरा पनि छन् । घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन । मोबाइल फोनको पहुँच छैन ।

म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाइमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पीठो व्यवस्थापन हुँदै आएको छ । घिमीठाँटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एकजना कर्मचारीलाई दैनिक ५ सय रुपैयाँ ज्याला दिएर दुई महिना राख्ने गरिएको गुरुङले जानकारी दिए ।

गत हप्ता दामोदरकुण्ड पुगेका काठमाडौँका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफैँ खाने, बस्ने सामानको बन्दोबस्ती गर्नुपरेको बताए । ‘थाकेर लखतरान हुने तीर्थयात्री पकाएर खानसक्ने अवस्थामा हुँदैनन्’, उनले भने, ‘आफैँ सामान बोकेर लैजाने र पकाएर खान गाह्रो हुने रहेछ ।’

घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ ।

घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन हयारा–घाराबाट घोडाको यात्रा गर्दछन् । दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताए ।

‘जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन् । दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ’, उनले भने, ‘देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।’ बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आएका  याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले नपुग्ने, मौसमले साथ नदिने भएकाले दुई महिना मात्र समयसम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताए ।

‘गत वर्ष चार हजारको हाराहारीमा तीर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली तीन हजारको हाराहारीमा आएका छन्’, उनले भने, ‘अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत व्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।’

महँगो प्रवेश शुल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तीर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तीर्थयात्रामा आउन नसकेका टासीले बताए । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधि लम्ब्याउनुपर्ने र मोबाइल फोन सेवा विस्तारको अतिआवश्यक भएको बताए ।

‘धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोबाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ’, उनले भने, ‘दामोदरकुण्ड र समग्र उपल्लो मुस्ताङमा पर्यटक तथा भक्तजनको आगमन बढाउन अर्धनिषेधित क्षेत्र हटाउन सङ्घीय सरकारसँग पहल गरेका छौँ ।’

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ । पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसैंका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ । कुण्ड वरिपरि कुशको हरियाली छ ।

कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताए । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने उनले सुनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise