२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री

Nada
२०८१ असोज ११ गते १६:४०
Shares
अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री

काठमाडौंः कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । आज ४५औं विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरे । 

ncell

सहरी विकासमन्त्रीसमेत रहेका सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरिरहेकाले सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजाने बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासका लागि शान्ति अपरिहार्य रहेको भन्दै शान्ति, सुरक्षाबिना पर्यटनको विकास सम्भव नहुने धारणा राखे । ‘नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु आवश्यक छ, उनले भने, ‘यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भए पनि सन्तोषजनक अवस्था भने नरहेको भन्दै उनले आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

कार्यवाहक प्रधानमन्त्री सिंहले नेपाल साहासिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै पर्यटन क्षेत्रमा निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था सिर्जना गर्न सरकारले येजना बनाइरहेको उल्लेख गरे । अस्थिरताका कारण देशमा समस्या देखिएकाले राजनीतिक स्थायित्वका लागि संसद्का दुई ठूला दल मिलेर सरकार गठन भएको भन्दै उनले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न राज्य र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । ‘यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्नेछ । अहिले विश्वले शान्ति खोजिरहेको छ । त्यसैले ‘पर्यटन र शान्ति’ लाई सँगसँगै लैजाने गरी आधार तयार गर्नुपर्नेछ’, उनले भने ।

मन्त्री पाण्डेले देशको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेकाले निजी क्षेत्रको सहयोग आवश्यक पर्ने खाँचो औंल्याए । उनले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यावसायिक बजार योजनासहित निगम सुधार गरिने उल्लेख गरे ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले पर्यटनमैत्री नीति बनाउनेतर्फ काम गरिरहेको जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेकामा जोड दिए । 

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटन प्रवर्द्धन सम्भव हुने धारणा राखे । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौँको लगानी रहेका, करिब १० लाखलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर